बाढीले बाँध बगाएपछि दुई सातादेखि दुई हजारभन्दा बढी घरधुरी अन्धकारमा

सोमबार, ७ साउन, २०८१
डिजिटल संस्करण
बाढीले बाँध बगाएपछि दुई सातादेखि दुई हजारभन्दा बढी घरधुरी अन्धकारमा

बाढीले क्षति पुर्‍याएको मुसिकोट–७ को परोपकार लघु जलविद्युत् परियोजनाको बाँध र नहर ।

असार अन्तिम साता परेको निरन्तर वर्षासँगै आएको बाढीले बाँध र नहर बगाएपछि दुई जिल्लाका दुई हजारभन्दा बढी घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । परोपकार लघु जलविद्युत् र दरम खोला लघु जलविद्युत् परियोजनाको बाँधसँगै नहर बडिगाड खोलाको बाढीले भत्काउँदा गुल्मीको मुसिकोट नगरपालिका र बागलुङको गलकोट नगरपालिका तथा बडिगाड गाउँपालिकाका नागरिकलाई सास्ती भएको छ ।

बाढीले नहर बगाएको करिब दुई साता हुँदा पनि सञ्चालन गर्न मर्मत हुन सकेको छैन । परोपकारको बाँध, सय मिटर कुलो र नहर ५० मिटर बाढीले बगाएको संस्थाका अध्यक्ष अर्जुनसिंह ठकुरीले बताए । उनका अनुसार झन्डै डेढ करोडको क्षति भएकाले सहयोगका लागि वडादेखि केन्द्रीय सरकार र निकायमा अनुरोध गरिएको छ । तत्काल मर्मत गर्न नसकिने र निर्माण गरे पनि पुनः बगाउने जोखिम भएको उनको भनाइ छ । ‘प्रहरी मुचुल्का र प्राविधिकद्वारा क्षतिको अवस्था प्रतिवेदन बनाएका छाैँ । सबै सरकार र निकायबाट सहयोग आवश्यक छ,’ उनले भने, ‘अहिले मर्मत गर्ने कुनै उपाय छैन ।’ 

०६८ सालमा ६ करोड लागतमा सञ्चालन गरिएको परोपकार लघु जलविद्युत्मा दुई हजारभन्दा बढी लाभग्राही भएको ठकुरीले बताए । त्यस्तै, बाढीले दरम खोला लघु जलविद्युत् परियोजनाको पनि ठूलो क्षति गरेको छ । परियोजना अध्यक्ष भुवन केसीका अनुसार बाढीले बाँध र नहर बगाएको छ । मुसिकोट २, ७ र बडिगाड ५ का करिब आठ सय घरधुरीले प्रयोग गर्ने विद्युत्को नहर बगाएपछि झन्डै २० लाखबराबरको क्षति भएको केसीले बताए । 

यो परियोजना डेढ दशकदेखि सञ्चालनमा छ । अहिले अन्धकारमै रहेका केही लाभग्राहीलाई हुने गरेर क्षणिक मर्मतपछि विद्युत् सुचारु गरिएको संस्थाका अध्यक्ष केसीले बताए । लघु जलविद्युत् अवरुद्ध भएका कारण असार मसान्तका वेला विद्युत् नहुँदा मुसिकोट नगरपालिकाको सेवा प्रवाहमा समस्या भएको थियो । केन्द्रीय विद्युत् नियमित नहुँदा वैकल्पिक व्यवस्था गरेर सेवा अगाडि बढाएको मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले बताए । 

परोपकार लघु जलविद्युत्का पूर्वअध्यक्ष गोपीकृष्ण खरेलका अनुसार नहर बगाएपछि गुल्मीको मुसिकोट नगरपालिकका–१, २, ३, ७, ८, बागलुङको बडिगाड गाउँपालिका वडानम्बर २, ५ र गलकोट नगरपालिकाको वडानम्बर ११ का नागरिक प्रभावित भएका छन् । 

See More On

सुझावित समाचार