एसिसी महिला एसिया कप : नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण

एसिसी महिला एसिया कप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानलाई एक सय नौ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। 

टस जितेर पाकिस्तानले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय आठ रन बनायो। 

श्रीलंकाको दम्बुलामा जारी खेलमा ब्याटिङमा नेपालका लागि कविता जोशीले सर्वाधिक ३१ रनको योगदान दिइन्। आक्रामक ब्याटिङ गरेकी कविताले २३ बलमा एक छक्का र चार चौकाको मद्दतमा अविजित रहँदै ३१ रन बनाएकी हुन्। 

ओपनर ब्याटर सीता रानामगरले सर्वाधिक २६ रनको योगदान दिइन्। ३० बलको सामना गरेकी सीताले तीन चौका प्रहार गरिन्। यस्तै, पूजा महतोले २५ रनको महत्त्वपूर्ण योगदान दिइन्। ३२ बलको सामना गरेकी पूजाले तीन चौका प्रहार गरिन्। 

नियमित अन्तरालमा विकेट गुमाएपछि दबाबमा परेको नेपाललाई सम्हाल्ने क्रममा पूजाले कविता जोशीसँग ३४ तथा सीता रानामगरसँग २५ रनको महत्त्वपूर्ण साझेदारी गरिन्। टिमको स्कोर ६५ रन हुँदा सीता पाँचौँ विकेटको रूपमा आउट भएपछि क्रिजमा कविता क्रिजमा आएकी थिइन्। 

त्यसअघि ४० रन बनाउँदा चौथो विकेट गुमाइसकेको नेपाली इनिङ्सलाई सीता र पूजाले सम्हालेका थिए। यी दुईबीच २५ रनको साझेदारी बनिसकेपछि दोस्रो रन लिने क्रममा दुर्भाग्यपूर्ण रूपमा सीता रनआउट हुन पुगिन्।

सुरुमै झड्का ब्यहोरेको नेपाल नियमित अन्तरालमा विकेट गुमाइएपछि दबाबमा आएको थियो। यस्तोमा पूजा र कविता जोशीले अन्तिमसम्म इनिङ्स सम्हाले। अन्तिम केही बल बाँकी हुँदा पूजा रनआउट हुन पुगिन् भने कविता अन्तिमसम्म अविजित रहिन्। 

अन्य ब्याटरले आज खासै योगदान गर्न सकेनन्। युएईसँगको पहिलो खेलमा अर्धशतक प्रहार गर्दै जितको आधार खडा गरेकी सम्झना आज पाँच बलमा चार रनको अवस्थामै आउट हुन पुगिन्। उनी पुल गर्ने क्रममा विकेट गुमाउन पुगेकी हुन्।

कविता कुँवरले १३, रुबिना चौधरीले आठ रनको योगदान दिँदा कप्तान इन्दु बर्मा भने शून्य रनमै आउट हुन पुगिन्।

सेमिफाइनल प्रवेशका लागि निकै महत्त्वपूर्ण मानिएको खेलमा नेपाल अब केहीबेरमा बलिङमा उत्रनेछ। खराब फर्मबाट गुज्रिरहेको पाकिस्तानलाई आज हराउन सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। 

नेपालले आफ्नो पहिलो खेलमा जित हासिल गर्दै दुई अंक आर्जन गरेको छ भने पाकिस्तान भारतसँग पराजित हुँदै अंकविहीन छ। भारतसँग पहिलो म्याच खेलेको पाकिस्तान १९.२ बलमा एक सय आठ रनमा अलआउट भएको थियो। 

सुझावित समाचार