प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

पक्षमा १८८, विपक्षमा ७४ सांसद, तटस्थ सांसद १

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण
प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

तस्बिर : रासस ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन्। उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा एक सय ८८ सांसदले मतदान गरे।  विपक्षमा ७४ मत पर्यो। एक सांसद तटस्थ रहे।

प्रतिनिधिसभाका दुई सय ७५ मध्ये आजको बैठकमा दुई सय ६३ सांसद मतदानमा सहभागी भए।
प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन बहुमत अर्थात् कम्तीमा १३८ जनाको समर्थन आवश्यक पर्थ्यो।

माओवादीसँगको सहकार्य त्यागेर कांग्रेससँग नयाँ सत्तागठबन्धन बनाएका ओली संविधानको धारा ७६(२) अनुसार ३१ असारमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएका हुन्। 

यो धाराअनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार ओलीले आजको प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए।

ओली चौथोपटक प्रधानमन्त्री बनेका हुन्। उनी पहिलोपटक २४ असोज ०७२, दोस्रोपटक ३ फागुन ०७४, तेस्रोपटक ३० वैशाख ०७८ मा प्रधानमन्त्री नियुक्त भएका थिए।

सुझावित समाचार