इरानले सन् २०४० सम्ममा इजरायललाई विश्वको मानचित्रबाटै मेटाउने दिनको दिनगन्तीका लागि डिजिटल घडी सन् २०१७ मै सार्वजनिक गर्यो । तेहरानको ‘प्यालेस्टाइन स्क्वायर’मा राखिएको यस घडीले ‘यहुदी राज्य’ अर्थात् इजरायललाई समाप्त पार्ने इस्लामिक गणतन्त्र इरानको लामो समयदेखिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । केहीले यो प्रतिज्ञालाई मुलुकभित्र र मुस्लिम विश्वभर समर्थन बटुल्ने आलंकारिक अभ्यासको रूपमा पनि लिन्छन् । तर, गाजायुद्ध लम्बिँदै र विस्तारित हुँदै जाँदा इजरायलका पूर्वप्रधानमन्त्री एहुद बाराकलगायत धेरैले यसलाई इरानले कार्यान्वयन गर्न खोजेको एउटा सम्भव योजनाका रूपमा हेर्न थालेका छन् ।
इजरायललाई समाप्त पार्ने यस इरानी मनसायको जरा ‘सिया एस्केटोलोजिकल’ (कयामतसम्बन्धी इस्लामिक अवधारणा) मा गढेको छ, जसले बाह्रौँ इमाम तथा इस्लामिक मसिहा ‘महदी’ यो संसारको अन्त्यमा फेरि अवतरित हुने विश्वास गर्छ । इरानी शासनले इजरायलको उन्मूलनलाई महदी–पुनरागमनको सर्तका रूपमा हेरिरहेको छ । इस्लामिक गणतन्त्रका संस्थापक अयातुल्लाह रुहोल्लाह खामेनीले इस्लामको ऐतिहासिक पतनका लागि विदेशी षड्यन्त्रलाई जिम्मेवार ठहर्याउँदै पश्चिमा शक्तिले मध्यपूर्वमा प्रवेश गर्न यहुदीवादको प्रयोग गरेको आरोप लगाएका थिए । यस दृष्टिकोणमा जेरुसेलमका इस्लामिक पवित्र स्थललाई इजरायली नियन्त्रणबाट मुक्त गर्नु र यहुदी शासनलाई नष्ट गर्दा मात्रै समकालीन इस्लामको मुक्ति र नवजीवन हुनेछ । चिन्ताको कुरा, इरानी नेताहरू यो लक्ष्य हासिल गर्ने सही समय यही हो भनिरहेका छन् । सन् २०२० मा खामेनीका उत्तराधिकारी सर्वाेच्च नेता अयातुल्लाह अली खामेनीले यहुदी शासनलाई ‘क्यान्सर’को संज्ञा दिँदै यो ध्वस्त हुने धारणा व्यक्त गरे । गत वर्षको अन्त्यतिर दमास्कसमा इजरायली हवाई आक्रमणमा एक उच्चपदस्थ इरानी जनरलको मृत्यु भएपछि इरानको रिभोल्युसनरी गार्ड कप्र्सका प्रमुख हुसेन सलामीले इजरायललाई ‘माटोमा मिलाउने’ प्रतिबद्धता जनाए ।
एडोल्फ हिटलरदेखि भ्लादिमिर पुटिन र ओसामा बिन लादेनसम्मको इतिहासले हामीलाई वैचारिक रूपले अभिप्रेरित आक्रमणको यस्ता धम्कीलाई सोही रूपमा लिनुपर्ने पाठ सिकाएको छ । यद्यपि, इस्लामिक गणतन्त्रले कट्टरपन्थी हुनुको अर्थ तर्कहीन र आत्मघाती हुनु होइन भन्ने कुरा आफ्नो सतर्कताबाट प्रदर्शन गरेको छ । उसले आणविक वा पारम्परिक युद्धको साटो इजरायललाई बिस्तारै कमजोर बनाउँदै लैजाने रणनीतिसहितको दीर्घकालीन युद्ध लडिरहेको देखिन्छ । गाजायुद्धले लेबनानमा हिजबुल्लाह, गाजामा हमास, वेस्ट बैंकमा इस्लामिक जिहाद, यमनमा हुथी र सिरिया र इराकमा सिया मिलिसियालगायत छद्म शक्तिको सञ्जालमार्फत इजरायललाई घेर्ने इरानको रणनीतिलाई साकार पारेको छ । उसको उद्देश्य प्रत्यक्ष टकरावबाट बच्दै इजरायललाई कमजोर पार्नु हो । अप्रिलमा इरानले इजरायलविरुद्ध भारी संख्यामा ड्रोन र क्षेप्यास्त्र दाग्नुचाहिँ एउटा उल्लेखनीय अपवाद त हो, तर कथित ‘एक्सिस अफ रेसिस्टेन्स’का नेता र घटकबीच इरानले आफ्नो विश्वसनीयता कायम राख्नु पनि आवश्यक थियो ।
आफ्ना प्रोक्सीमार्फत इजरायलमाथि दबाब बढाउने इरानको निर्णय इजरायलको कमजोरी उजागर गर्ने गरी भएको हमासको आश्चर्यजनक क्षमताबाट प्रभावित थियो । विशेषगरी ७ अक्टोबरमा हमासले गरेको आक्रमणले अब्राहम सम्झौतामा सामेल हुने र इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्य बनाउने साउदी अरेबियाको योजनालाई समेत विफल बनाएको तथ्यलाई इरानले नजरअन्दाज गर्ने कुरै भएन । घातक आक्रमण र त्यसपछिको युद्धले अमेरिकी राष्ट्रपति जो बाइडेनको अमेरिका समर्थित ‘सुन्नी अरब–इजरायल गठबन्धन’को योजनालाई चकनाचुर पारेको छ, जसलाई इरान अस्तित्वको खतराको रूपमा हेर्छ ।
यसबाहेक, इजरायलको इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्टडिजका अनुसार इरानले हालै सैन्य आणविक कार्यक्रमतर्फ डरलाग्दो र अभूतपूर्व प्रगति गरेको छ । तर, यसको अर्थ इरानले तेल अभिवमा आफ्नो पहिलो बम प्रहार गर्नेछ भन्ने पनि होइन । बरु, यो आणविक छाताको साथ, इरानले इजरायललाई कमजोर पार्ने आफ्नो प्रयासलाई दोब्बर बनाउन सक्छ । परम्परागत साधनहरू प्रयोग गरेर यसको पतन ल्याउन सक्छ । इजरायलको कथित दोस्रो हमला क्षमतालाई ध्यानमा राख्दै, इरानले इजरायलविरुद्ध आणविक प्रदर्शन गर्नु भनेको आफ्नै विनाश निम्त्याउनु हो भन्ने बुझेको छ । इरान इजरायलले लेबनानमाथि आक्रमण गरेमा ‘विनाशकारी युद्ध’को चेतावनी दिन्छ, किनकि ऊ लेबनानका आफ्नो सम्पत्ति नष्ट गर्न सक्ने इजरायलको गैरआणविक युद्ध रोक्न चाहन्छ । हिजबुल्लाह प्यालेस्टाइनी मित्रहरूका कारण मात्र इजरायलविरुद्धको युद्धमा सामेल भएका हुन् । इजरायली प्रधानमन्त्री बेज्यामिन नेतन्याहुले गाजामा युद्धविराम गर्न सहमत भए खुसी हुनेछ र यो सिया मिलिसिया द्वन्द्वबाट बाहिर निस्कनेछ ।
यस पृष्ठभूमिमा, इरानको ‘वार अफ एटिसन (कमजोर बनाउने युद्ध)’ को प्रमुख सहयोगी वास्तवमा इजरायलको आफ्नै सरकार हो । नेतन्याहुको गाजामा ‘पूर्ण विजय’ हासिल गर्ने लक्ष्यले इजरायललाई अन्तहिन द्वन्द्वमा फसाउने इरानको रणनीतिलाई साकारा पार्दै यस यहुदी राज्यलाई नष्ट गर्ने दीर्घकालीन योजनालाई नै सघाउ पुर्याउँछ । यो युद्धलाई अनावश्यक रूपमा लम्ब्याएर र गाजामा प्यालेस्टिनी प्राधिकरणको भूमिका स्वीकार गर्न इन्कार गरेर नेतन्याहु सरकारले इजरायललाई एक्ल्याएको छ । आफ्ना अमेरिकी हितैषीहरूको सम्बन्धलाई तनावपूर्ण बनाएको छ र आफ्नो ‘रणनीतिक डिटरेन्स’लाई नष्ट गरेको छ ।
यो घातक समीकरणमा नेतन्याहु र उनका धर्मान्ध–फासीवादीहरू छन्, जो गाजा र लेबनानमा सर्वनाशकारी युद्धमा संलग्न हुन कटिबद्ध छन् । उत्तरी इजरायल हिजबुल्लाहको अहिलेसम्मकै ठूलो रकेट आक्रमणबाट जल्न र नागरिकले यो स्थान छोड्न थालेपछि ‘रिलिजिअस जियोनिस्ट पार्टी’का सेटलमेन्ट एन्ड नेसनल मिसनमन्त्री ओरिट स्ट्रकले यो पश्चिम किनाराका बस्तीका लागि ‘चमत्कारको समय’ भएको दाबी दोहोर्याए । उनी यसो भनेर परमेश्वरले इजरायका शत्रुलाई नाश गर्ने र उनीहरूलाई यो भूमि फिर्ता दिने विश्वासतर्फ संकेत गर्दै थिए । नेतन्याहु यी दिग्भ्रमित यहुदीहरूकै सहयोगीमध्येका एक हुन् । उनीहरूले इजरायललाई समाप्त पार्ने इरानी परियोजनालाई नै सघाइरहेका छन् ।
(एमी इजरायलका पूर्वमन्त्री हुन् ।)
– प्रोजेक्ट सिन्डिकेटबाट