त्रिशूली नदीमा बेपत्ता भएका परिवारले गरे कुशको शव बनाएर अन्तिम संस्कार

शनिबार, ५ साउन, २०८१
डिजिटल संस्करण
त्रिशूली नदीमा बेपत्ता भएका परिवारले गरे कुशको शव बनाएर अन्तिम संस्कार

शव फेला नपरेको र जीवित हुनसक्ने आशा पनि मरेकोले धार्मिक विधिअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गर्दै सृष्टि यादवका परिवारजन । तस्बिर : इन्दीप काेइराला/नयाँ पत्रिका ।

सिमलताल पहिरोमा परेर दुईवटा बस त्रिशूली नदीमा खस्दा बाराका चारजना बेपत्ता भएका थिए। घटनाको एक सातासम्म शव फेला नभएपछि चारमध्ये तीनजनाको परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन्।

उक्त घटनामा परेका बाराका चारयात्रुमा प्रसौनी गाउँपालिका– २ का ताराचन्द कुर्मी, उनकी पत्नी कुसुवदेवी, विश्रामपुर– ३ का प्रमानन्द पण्डित र कलैया उपमहानगरपालिका– १४ की सृष्टि यादवको अवस्था अझै अज्ञात छ।

लगातार खोजी गर्दा पनि उनीहरू जीवित रहेको यकिन हुन नसकेको तथा शव पनि फेला नपरेको कारण परिवारजनले कुशको शव बनाएर अन्तिम संस्कार गर्ने कार्य सुरु गरेका हुन्।

त्रिशूली नदीमा बेपत्ता भएकी सृष्टि यादवको परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन्। घटनाको आठौँ दिनसम्म अवस्था पत्ता नलागेपछि कलैया उपमहानगरपालिका– १४ की सृष्टिका अभिभावकले कुशको शव बनाएर शुक्रबार अन्तिम संस्कार गरे। 

यस्तै, उक्त घटनामा परेका बाराका प्रसौनी गाउँपालिकाका– २ का ताराचन्द कुर्मी, उनकी पत्नी कुसुवदेवीको बुधबार नै परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका थिए।

शव फेला नपरेको र जीवित हुन सक्ने आशा पनि मरेकोले धार्मिक विधिअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको सृष्टिका परिवारले जनाएका छन्। 

सृष्टि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रूपमा कार्यरत थिइन्। जापान जाने तयारीका निम्ति परीक्षा दिन उनी बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्सबाट काठमाडौंतर्फ जाँदै थिइन्। 
यता, विश्रामपुर– ३ का प्रमानन्द पण्डितको अवस्था पनि अहिलेसम्म अज्ञात नै रहेको छ।

सुझावित समाचार