कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। शुक्रबार ललितपुरस्थित सम्पर्क कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
प्रदेश समिति सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षता एवं कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको समेत उपस्थितिमा बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको हो। मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते आइतबार प्रदेश सभामा विश्वासको मत लिने कार्यतालिका रहेको छ।
केन्द्रमा दुई ठूला दल कांग्रेस–एमालेसहित नयाँ गठनबन्धन निर्माण भएसँगै एमालेका मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका छन्। जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई एमाले र राप्रपाले विश्वासको मत नदिने निर्णय यसअघि नै गरिसकेका छन्।
मुख्यमन्त्रीको पक्षमा अहिलेसम्म सरकारमा रहेका दल नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी (हानेपा) रहेका छन्। उनीसँग माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको सात र हाम्रो नेपाली पार्टीको दुई गरी ३० जना सांसदको साथ रहेको छ।
एक सय १० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसको ३७, एमालेको २७, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३ र नेपाल मजदुर किसान पार्टीको तीन सांसद रहेका छन्। नयाँ गठबन्धनमा रहेको कांग्रेस र एमालेको मात्रै पनि यस प्रदेशमा बहुमत पुग्छ।
सरकार गठनका लागि ५६ सांसद आवश्यक पर्नेमा यी दुई दलसँगै ६४ सांसद रहेका छन्। अल्पमतमा रहेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्रयोजनार्थ ६ गते दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक बस्दै छ।