नेपाल ३१ स्वर्ण, २० रजत र ११ कांस्यसहित कुल ६२ पदक जित्दै आठौँ दक्षिण एसियाली कराँते प्रतियोगितामा पहिलो भएको छ । भुटानको थिम्पुमा दुई दिन भएको प्रतियोगितामा नेपालसहित चार देश सहभागी थिए । भारत २७ स्वर्ण, २० रजत र १३ कांस्यसहित दोस्रो भएको छ । श्रीलंका पाँच स्वर्ण, १८ रजत र ३१ कांस्यसहित तेस्रो भयो । आयोजक भुटानले पाँच रजत र ३७ कांस्य पदकसहित चौथो स्थान प्राप्त गरेको छ ।
मिसन २०२६ बाहिर रहेका विप्लवले दिलाए स्वर्ण
मिसन २०२६ को अभ्यासमा समावेश नगरिएका विप्लवलाल श्रेष्ठसहित नौ खेलाडीले दोस्रो दिन नेपाललाई थप नौ स्वर्ण पदक जिताएका छन् । विप्लवले +८४ किलो तौल समूहमा नेपाललाई स्वर्ण पदक जिताए । यद्यपि, नेपाल कराँते महासंघले उनलाई सन् २०२६ मा हुने एसियन गेम्सको बन्द प्रशिक्षणमा समावेश गरेको छैन । घरेलु प्रतियोगितामा पनि सधैँ च्याम्पियन हुँदै आएका विप्लवले सन् २०१९ मा भएको १३औँ दक्षिण एसियाली खेलकुदमा पनि नेपाललाई स्वर्ण पदक जिताएका थिए । उनले आफू तयार हुँदा–हुँदै महासंघले प्रशिक्षणमा समावेश नगरेको दाबी गरेका छन् ।
प्रतियोगिताको अन्तिम दिन नेपाललाई पुरुष क्याडेटतर्फ –५२ किलोमा समन श्रेष्ठ, –६३ किलोमा साहिल राई, जुनियरतर्फ –६८ किलोमा निशान तामाङ, त्यसैगरी यू–२१ तर्फ –८४ किलोमा गौरव नेपाल, +८४ किलोमा आशिष श्रेष्ठ, पुरुषकै सिनियरतर्फ –५५ किलोमा एलोन श्रेष्ठ, –६७ किलोमा सन्तोष श्रेष्ठ, –८४ किलोमा मोहम्मद सेखु आलमले पदक जिताएका हुन् ।
क्याडेटको महिलातर्फ –४२ किलोमा वर्षा राई, –४७ किलोमा प्रोसिया चौधरी, –६१ किलोमा मनीषाकुमारी बोहरा, महिलातर्फकै जुनियर –४२ किलोमा सुस्मिता वाइबा, –५३ किलोमा समीक्षा ढुंगाना, यू–२१ को –४५ किलोमा प्रियंका शाही, –५० किलोमा अन्जली महर्जन र –५५ किलोमा जिया कार्कीले स्वर्ण दिलाए । त्यसैगरी, महिला सिनियरतर्फ –४५ किलोमा वर्षा बुढामगर, –६१ किलोमा निरूपा तामाङ र + ६८ किलोमा १९औँ एसियाडकी रजत पदक विजेता एरिका गुरुङले नेपाललाई स्वर्ण पदक जिताए । महिलातर्फकै टिम कुमितेमा नेपालले पहिलो स्थान हासिल गर्न सफल भयो । पुरुष टिमले कुमितेमा दोस्रो स्थानमा चित्त बुझायो ।