नवौँ संस्करणको एसिसी महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि श्रीलंकाको डाम्बुलामा हुँदै छ । तेस्रोपटक सहभागी भइरहेको नेपाली टोलीले पहिलो दिन नै युएईविरुद्ध खेल्दै छ । नेपालले सन् २०२१ मा अन्तिमपटक युएईविरुद्ध खेलेको थियो, जसमा ४८ रनले पराजित भएको थियो ।
नेपाल रहेको समूह ‘ए’मा विश्व क्रिकेटकै बलियो राष्ट्र भारत र पाकिस्तान रहेका छन् । आइसिसी वरीयतामा भारत तेस्रो, पाकिस्तान आठौँ, युएई १६औँ र नेपाल २१औँ स्थानमा छन् । १३ साउनसम्म चल्ने प्रतियोगितामा आठ टोली सहभागी छन् । समूह ‘बी’मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् । नेपालले भारत र पाकिस्तानसँग सन् २०१६ को संस्करणमा पनि प्रतिस्पर्धा गरेको थियो । यसअघिको दुई संस्करणमा नेपाल जितविहीन छ ।
यसपटक नेपालले समूहमा कडा चुनौती दिने योजना बनाएको छ । प्रतियोगितामा सहभागी हुन जानुअघि नेपालकी कप्तान इन्दु बर्माले समूह चरण पार गर्ने लक्ष्य राखेको बताएकी थिइन् । ‘यसपटक तयारी राम्रो छ । कम्तीमा समूह चरण पार गर्ने योजना छ,’ उनले भनेकी थिइन् । उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य राखेको नेपाली टोली तयारीका लागि एक साताअघि नै श्रीलंका पुगेको थियो । त्यहाँ टोलीले स्थानीय क्लबसँग अभ्यास खेल खेल्यो ।
मिश्रित नतिजा निकालेको नेपाली खेलाडीले ब्याटिङ र बलिङमा अभ्यास गर्ने अवसर पाएका छन् । मनोज कटवालको प्रशिक्षणमा रहेको नेपालको मुख्य समस्या ब्याटिङमा देखिन्छ । पाकिस्तान र भारतविरुद्ध नेपालले ब्याटिङमा सुधार गर्नुपर्छ । नेपालको टोली युवा तथा अनुभवी छ । यसपटक छनोट भएका खेलाडीले राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् । टोलीमा डेब्यु गर्ने खेलाडी छैनन् । सिनियर खेलाडीसँग यसअघिका एसिया कप खेलेको अनुभव छ । केही खेलाडीको एसिया कप पहिलो भए पनि उनीहरूसँग अन्तर्राष्ट्रिय खेलको अनुभव छ ।
अहिलेसम्म जितविहीन
सन् २०१२ मा नेपालले पहिलोपटक एसिया कप खेलेको थियो । चीनमा भएको प्रतियोगितामा नेपालले श्रीलंका, बंगलादेश र चीनविरुद्ध प्रतिस्पर्धा गरेको थियो । यी तीनवटै खेलमा नेपाल पराजित भयो । पहिलोपटकको सहभागितामा नेपाल समूह ‘बी’मा रह्यो । नेपाल श्रीलंकाबाट २० रनले, बंगलादेशसँग नौ विकेट र चीनसँग ४५ रनले पराजित भयो ।
सन् २०१६ मा थाइल्यान्डमा भएको एसिया कपमा ६ टोलीबीच प्रतिस्पर्धा भयो । नेपालले राउन्ड रोबिन खेलमा पाँच टोलीसँग प्रतिस्पर्धा गर्यो । दोस्रोपटकको सहभागितामा नेपालको प्रदर्शन गतिलो भएन । नेपालले उपाधि दाबेदार पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश र थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्यो । नेपाली महिला खेलाडीले पहिलोपटक चार टेस्ट राष्ट्रविरुद्ध खेल्ने अवसर पाएका थिए । सो प्रतियोगितामा नेपाल पाकिस्तानसँग नौ विकेट, श्रीलंकासँग आठ विकेट, बंगलादेशसँग ९२ रन, आयोजक थाइल्यान्डसँग आठ विकेट र भारतसँग ९९ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
थप कोटामा नेपाल र थाइल्यान्ड छनोट
गत फेब्रुअरीमा एसिया कप प्रतियोगिताको छनोट खेल भएको थियो । छनोट प्रतियोगिताको फाइनल पुग्ने दुई टोली एसिया कपमा पुग्ने प्रावधान थियो । नेपाल सेमिफाइनलमा मलेसियासँग स्तब्ध भयो । अर्को खेलमा थाइल्यान्ड युएईसँग पराजित भएको थियो । सेमिफाइनलबाट बाहिरिएका नेपाल र थाइल्यान्डका एसिया कप खेल्ने सपना अधुरै रह्यो । तर, एसियन क्रिकेट काउन्सिल (एसिसी)ले प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउन थप दुई टोली राख्ने निर्णय गर्यो । एसिया कपको सेमिफाइनलबाट बाहिरिएका नेपाल र थाइल्यान्डलाई एसिया कपमा सहभागी गराउने निर्णय भयो । यसरी यी दुई टोली एसिया कपमा छनोट भएका हुन् ।
तीन खेलाडीसँग एसिया कप खेलेको अनुभव
नेपाली टोलीमा तीनजना खेलाडीसँग एसिया कप खेलेको अनुभव छ । कप्तान इन्दु बर्मा, पूर्वकप्तान रुविना क्षेत्री र सीता रानामगरले अघिल्ला एसिया कप खेलेका थिए । वर्तमान टोलीमा सबैभन्दा अनुभवी खेलाडी रुविना हुन् । उनले नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय टी–२० खेल खेलेकी छिन् । उनीसँग ५५ अन्तर्राष्ट्रिय खेलको अनुभव छ । नेपाली महिला राष्ट्रिय टोलीबाट टी–२० आईमा पहिलो शतकीय इनिङ्स उनले नै खेलेकी थिइन् । सन् २०२४ को फेब्रुअरीमा उनले माल्दिभ्सविरुद्ध ११८ रनको शतकीय इनिङ्स खेलेकी थिइन् । उनले अन्तर्राष्ट्रिय टी–२० मा ४२ विकेट लिएकी छिन् ।
कप्तान इन्दु दोस्रो सर्वाधिक अन्तर्राष्ट्रिय टी–२० खेल खेल्ने नेपाली महिला खेलाडी हुन् । उनले अहिलेसम्म ५३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेकी छिन् । उनले ४६ इनिङ्समा एक अर्धशतकको मद्दतमा ६ सय ३९ रन बनाएकी छिन् । उनले सन् २०१९ मा चीनविरुद्ध डेब्यु गरेकी थिइन् । नेपाली टोलीमा अर्का अनुभवी खेलाडी सीता हुन् । सन् २०१९ मा चीनसँगको खेलमा टी–२० मा डेब्यु गरेकी सीताले ५३ खेल खेलेकी छिन् । ५१ इनिङ्समा उनले आठ सय ६३ रन बनाएकी छिन् । यसैगरी बलिङमा उनले ४७ इनिङ्समा ५० विकेट लिएकी छिन् । अलराउन्डर भूमिका निर्वाह गर्ने उनले सात छक्का र ६९ चौका प्रहार गरेकी छिन् ।