पृथ्वी राजमार्गमा मनसुनभर सडक स्तरोन्नति बन्द गरिने

बिहिबार, ३ साउन, २०८१
डिजिटल संस्करण

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वी राजमार्गमा वर्षायामभर सडक स्तरोन्नतिका काम बन्द गरिने भएको छ। मनसुन अवधिभर कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्भर्ट र पर्खाल निर्माणलाई जोड दिने बताइएको छ।

असारदेखि असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले कालोपत्र र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथमिकता दिइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए। उनका अनुसार पहिरो जान सक्ने स्थानमा भूक्षय रोक्ने किसिमका बिरुवा लगाउने, सडकको छेउमा दुबो रोप्नेलगायत कार्य भइरहेका छन्।

‘बाढीपहिरोले राजमार्ग अवरुद्ध हुन सक्छ, पहिरोले भौतिक तथा मानवीय क्षतिसमेत हुन सक्ने भएकाले क्षतिलाई मध्यनजर गर्दै दिउँसोको समयमा सर्तकता अपनाएर काम गर्ने गरिएको छ,’ इन्जिनियर पाण्डेले भने। हालसम्म पूर्वी खण्डमा ६२ र पश्चिम खण्डमा २८ प्रतिशत कार्य प्रगति भइसकेको छ। राजमार्गको ८० किलोमिटर सडकमध्ये करिब ५३ किमि सडकमा कालोपत्र भइसकेको उनले जानकारी दिए।

‘पूर्वीमा ३३ र पश्चिम खण्डमा २० किमि कालोपत्र भइसकेको छ,’ पाण्डेले भने, ‘राजमार्गको पूर्वमा ४१.७ किमि र पश्चिममा ३८.८८ किमिलाई दुई खण्डमा विभाजन गरी काम गरिरहेका छौँ।’

पश्चिम खण्डमा दुई लेनको गरी २० किमि सडकमा कालोपत्र गरिएको छ। असारदेखि असोजसम्म मनसुन सक्रिय रहेकाले कालोपत्र कार्य रोकेर अन्य काम गर्न लागिएको आयोजनाको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए। उनका अनुसार कालोपत्र गर्न ‘सबबेस’ र ‘बेस’ बिछ्याउने समयमा वर्षा भएमा थप समस्या हुने भएकाले काम बन्द गरिएको हो।

पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। राजमार्ग सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ।

पूर्वी खण्डको ठेक्का रु. ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु. सात अर्ब ४० करोड ४६ लाखमा भएको आयोजनाले जनाएको छ।

सुझावित समाचार