गौमूलमा पहिरोले पाँच परिवार विस्थापित, सात घर उच्च जोखिममा

बिहिबार, ३ साउन, २०८१
डिजिटल संस्करण

बाजुरा जिल्लाको गौमूल गाउँपालिका– २ रनेडामा पहिरोले पाँच घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन् भने सात घर पहिरोको उच्च जोखिममा परेका छन्। 

मंगलबार रातिको भारी वर्षाका कारण निरन्तर गएको पहिरोले पूरै बस्ती नै जोखिममा परेको छ। रनेडा बस्तीको तल र माथिबाट आएको पहिरोले सात घर उच्च जोखिममा र पाँच घर विस्थापित भएको वडासदस्य प्रेमबहादुर रोकायाले बताए।

रोकायाका अनुसार स्थानीय सालिभान रोकाया, मिहेन्द्रे रोकाया, साउने रोकाया, सगुने रोकाया र देबे सार्कीको घरपरिवार विस्थापित भएका हुन्।

विस्थापित परिवारलाई वडाबाट त्रिपाल उपलब्ध गरी सुरक्षित स्थानमा बसालिएको वडाध्यक्ष देवबहादुर रोकायाले जानकारी दिए। अन्य उच्च जोखिममा रहेका घरपरिवारलाई पनि सुरक्षित स्थानमा बस्न आग्रह गरिएको उनले बताए।

सुझावित समाचार