कञ्चनपुरमा एक वर्षको अवधिमा झन्डै अढाई सय फरार अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक वर्षको अवधिमा २४५ फरार अभियुक्त पक्राउ गरेको हो । ६ महिना (फागुनदेखि असारसम्म)को अवधिमा मात्रै १५८ अभियुक्त पक्राउ परेका थिए । आर्थिक वर्ष ०८०/८१ मा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएका अभियुक्त पक्राउ गरी अदालतमा पेस गर्दै कारागार चलान गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले विभिन्न प्रकृतिका आपराधिक मुद्दामा अदालतबाट दोषी ठहर भएका कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई पक्राउ गरिएको बताए । कञ्चनपुर प्रहरीको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष ०७९/८० मा २२ अभियुक्त र त्योभन्दा अघिल्लो वर्ष ०७८/७९ मा पनि एक फरार अभियुक्त पक्राउ परेका थिएनन् । यस्तै, प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा लागुऔषध नियन्त्रणतर्फ २८४ जना लागुऔषधका तस्कर, सेवनकर्ता पक्राउ गरेका छन् ।
उनीहरूको साथबाट सात किलो ६७७ ग्राम ५९४ मिनिग्राम चरेस, ३१५ ग्राम १५ मिलिग्राम खैरोहिरोइन बरामद गरेको छ । काठ तस्करीतर्फ आठजना तस्कर पक्राउ परेको र उनीहरूको साथबाट सात सवारीसाधन, २० लाख आठ हजार ६१७ रुपैयाँबराबरको पाँच सय ८४ क्युफिट काठ बरामद गरेको छ ।
गैरकानुनी रूपमा नदीजन्य पदार्थको दोहन गर्ने ५२ मानिस, पाँच टिपर, ४६ ट्याक्टर गरेर उनीहरूबाट १३ लाख ८७ हजार पाँच सय राजस्व संकलन गरेको छ। १८८ जुवाडेको साथबाट १२ लाख ९६ हजार ३९७ रुपैयाँ बरामद गरेको छ भने १८ मुद्दा चलाएको छ ।
तेब्बरभन्दा बढी भन्सार छलीका सामान बरामद
यसैबीच कञ्चनपुर प्रहरीले गत आर्थिक वर्षमा ठूलो परिमाणका अवैध भन्सार चोरीछलीका सामान बरामद गरेको छ । ६ करोड ३७ लाख ८५ हजार ५१९ रुपैयाँबराबरको अवैध सामान बरामद गरेर भन्सार चलान गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७९/८०मा दुई करोड २४ लाख चार हजार ४२३ र त्यसभन्दा अघिल्लो वर्ष ०७८/७९ मा एक करोड १७ लाख ५४ हजार २८० रुपैयाँबराबरको सामान बरामद गरिएको थियाे ।
पछिल्ला तीन वर्षको अवधिमा गत आर्थिक वर्षमा निकै ठूलो परिमाणमा अवैध सामान बरामद गरिएको छ । फागुनदेखि यता मात्रै दुई करोड ८६ लाख ४३ हजार ८२ रुपैयाँबराबरको सामान बरामद गरिएको छ। कञ्चनपुर भन्सारकै तथ्यांकअनुसार पनि गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा २० प्रतिशत भन्सार राजस्व वृद्धि गरेको छ। गत आर्थिक वर्षमा कञ्चनपुर प्रहरीको नेतृत्वद्वय एसपी कमल थापा र चक्रराज जोशीले सम्मालेका थिए । गत फागुनदेखि जोशी हालसम्म कार्यरत रहेका छन् । पछिल्ला दिनहरूमा प्रहरीले भन्सार चोरीछलीदेखिका कामकाजमा उच्च सक्रियता देखाएसँगै तस्कर समूहको रातारात कमाउने सपना चकनाचुर भएको छ ।
विगतका वर्षहरूमा तस्कर समूहले प्रहरीसँग सेटिङ गरेर करोडौँका सामान भित्र्याउने गरेको भए पनि तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट, गत वर्षका एसपी कमल थापाको कार्यकालदेखि यता अहिलेका एसपी चक्रराज जोशीले तस्करसँग हिमचिम नभई सीधै डण्डा बजाउने काम गरेपछि तस्कर समूहको रुवाबासी चलेको छ । ०७५ सालमा एसपी दिल्लीराज विष्टले कञ्चनपुरको कमान्ड सम्हालेपछि लागुऔषध नियन्त्रणका लागि सोल्पावालादेखि सप्लायर्समाथि कारबाही सुरुवात गरेका थिए । तस्करी नियन्त्रणमा प्रहरीका जिल्ला कमान्डरले गरेको भूमिकाको नागरिकस्तरमा प्रशंसा भइरहेको छ ।