उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उद्योगी व्यवसायीलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा मन्त्री पौडेलले आर्थिक क्षेत्रका धेरै समस्या सम्बोधन गर्नुपर्ने भए पनि सबैभन्दा महत्वपूर्ण निजी क्षेत्रको विश्वास निर्माण गर्नुपरेको बताए ।
मन्त्री पौडेलले डेडिकेटेड फिडर र ट्रंक लाइन विवाद होस् वा निर्माण व्यवसायीको भुक्तानीमा भएको ढिलाइ सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याए । भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र अहिले समस्यामा रहेको र आर्थिक पुनरुत्थानको निमित्त निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिए । उनले अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।
ढकालले डेडिकेटेड फिडर र ट्रंक लाइनको समस्या छिट्टै समाधान गर्न पनि मन्त्री पौडेललाई आग्रह गरे । उनले यो समस्याले उद्योगलाई ठूलो असर पारेको र उत्पादनमूलक गतिविधिहरू संकुचित भएको बताए । उद्योग क्षमताअनुसार चल्न नसकेको उनले बताए ।