पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको षड्यन्त्रमा संलग्न रहेको भन्दै अमेरिकी सञ्चारमाध्यमले लगाएको आरोपलाई इरानले खण्डन गरेको छ । अमेरिकी टेलिभिजन संस्था सिएनएनले मंगलबार अज्ञात अमेरिकी अधिकारीलाई उल्लेख गर्दै ट्रम्पविरुद्ध इरानले आक्रमणको योजना बनाइरहेको केही हप्ताअघि गुप्त सूचना प्राप्त भएको समाचार प्रकाशित गरेको थियो । त्यस सूचनापछि अमेरिकी गुप्तचर निकायले ट्रम्पको सुरक्षा बढाईएको पनि समाचारमा उल्लेख छ । तथापि सुरक्षा बढाउदा पनि ट्रम्पमाथिको शनिबारको आक्रमण भने रोक्न सकिएन ।
उता अमेरिकी अधिकारीले नै ट्रम्पमाथि इरानी जोखिम रहेको भए पनि हालसम्मको अनुसन्धानले शनिबारको आक्रमण २० वर्षिय बन्दूकधारीले एक्लै गरेको देखिएको बताएका छन् । शनिबारको आक्रमणमा पूर्वराष्ट्रपति ट्रम्पको कान छोएर गोली गएको थियो भने उनको सभामा सहभागी एक समर्थक मारिएका छन् । जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएका थिए ।
सन् २०२० मा अमेरिकी ड्रोन आक्रमणमा ‘रिभोलुसनरी गार्ड्स’का कमान्डर कासिम सुलेमानीको हत्या भएपछि तेहरानले त्यसको बदला लिने धम्की दिएको थियो । त्यति वेला सो धम्कीलाई अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले गम्भीरतापूर्वक लिएको बताइएको थियो । इरानका लागि संयुक्त राष्ट्रसंघीय मिसनले उक्त आरोप अप्रमाणित र दुर्भावनापूर्ण भएको जनाएको छ ।
‘ट्रम्पविरुद्ध हालै भएको आक्रमणमा इरानको कुनै पनि संलग्नताको आरोपलाई हामी कठोरतापूर्वक अस्वीकार गर्छाैं । तर, ट्रम्पको प्रत्यक्ष भूमिका रहेको जनरल कासिम सुलेमानीको हत्यामा मुद्दा चलाउन भने इरान कटिबद्ध छ,’ विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले भने ।