एक वर्षमा अख्तियारबाट विशेष अदालतमा २०१ मुद्दा दर्ता

प्रतिवादीबाट आठ अर्ब ३५ करोड १२ लाख ९८ हजार १४२ रुपैयाँ ४६ पैसा बिगो मागदाबी

बुधबार, २ साउन, २०८१
डिजिटल संस्करण
एक वर्षमा अख्तियारबाट विशेष अदालतमा २०१ मुद्दा दर्ता

तस्बिर : नयाँ पत्रिका अर्काइभ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष ०८०/८१ मा भ्रष्टाचारसम्बन्धी दुई सय एक मुद्दा विशेष अदालतमा दायर गरेको छ। अख्तियारले आज विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो।

विज्ञप्तिमा विशेष अदालतमा दायर दुई सय एक मुद्दाका प्रतिवादीबाट आठ अर्ब ३५ करोड १२ लाख ९८ हजार १४२ रुपैयाँ ४६ पैसा बिगो मागदाबी गरिएको उल्लेख छ। यस्तै, विशेष अदालतबाट भएका फैसलाहरूमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएकाे संख्या ९२ रहेको अख्तियारको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष ०८०-८१ मा अख्तियारले दायर गरेका मुद्दामा गैरकानुनी लाभहानि ५८, घुस (रिसवत) ४८, नक्कली शैक्षिक प्रमाण–पत्र ३४, सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी ३४, राजस्व चुहावट-हिनामिना १३, गैरकानुनी सम्पत्ति आर्जन ११ र विविध तीनवटा छन्।

यसबीच, आयोगले विभिन्न एक सय एक निर्वाचित जनप्रतिनिधिविरुद्ध मुद्दा चलाएको छ। तिनमा ८१ स्थानीय तहका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, निमित्त प्रमुख प्रशासकीय अधिकृत, प्रशासन सहायक, वडाध्यक्षलगायत छन्।

यस्तै, दुई सय एक मुद्दामा एक हजार पाँच सय २० जनालाई प्रतिवादी बनाइएको विज्ञप्तिमा उल्लेख छ। पाँच सय २४ राष्ट्रसेवक कर्मचारी, निर्वाचित जनप्रतिनिधि एक सय एक, मनोनीत पदाधिकारी एक सय ८१, लेखापढी व्यवसायी दुई, दुई बिचौलिया, ९१ व्यवसायी र ६ सय १९ अन्य व्यक्ति छन्।

आर्थिक वर्ष ०८०/८१ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त २६ हजार पाँच सय २२ तथा अघिल्लो आर्थिक वर्ष ०७९/८० बाट जिम्मेवारी सरेर आएका नौ हजार दुई सय ६८ गरी कुल ३५ हजार सात सय ९० उजुरी अख्तियारमा रहेकोमा २७ हजार ३५७ उजुरी फर्स्योट गरिएको अख्तियारले जनाएको छ।

सुझावित समाचार