निजी क्षेत्रलाई प्रोत्साहन गर्छौँ : प्रधानमन्त्री ओली

बुधबार, २ साउन, २०८१
डिजिटल संस्करण

निजी क्षेत्रको मनोबल बढ्ने गरी लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तारविना विकास सम्भव नभएको बताउँदै उद्यमी–व्यवसायीलाई सहज हुने नीति लिइने प्रतिबद्धता व्यक्त गरे । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसमेतको उपस्थितिमा भएको भेटमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताए । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र विस्तारबाट मात्रै सुधार सम्भव रहेको उनले बताए । 

निजी क्षेत्रलाई मर्यादाक्रममा समावेश गर्नेलगायतका गैरमौद्रिक प्रोत्साहन सरकारले दिन सक्ने अध्यक्ष ढकालको भनाइ थियो । सरकार र निजी क्षेत्रबाट पूर्वाधारमा हुने लगानीलाई कुनै पनि प्रकारले निरुत्साहित गर्न नहुनेमा ढकालले जोड दिए । साथै, आर्थिक वर्षको सुरुमा नै नयाँ सरकार बनेको हुँदा पुँजीगत खर्च बढाउन विशेष पहल आवश्यक रहेको बताए । 

अर्थतन्त्रमा सुधारका लागि प्रधानमन्त्री नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको बताए । निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवं ट्रकलाइनसम्बन्धी विवाद तत्काल समाधान गरी उद्यमी–व्यवसायीलाई निर्बाध र सहज रूपमा काम गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उनले बताए । भेटमा सहभागी महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले बजारमा माग बढाउन सरकारको खर्च बढाउनुपर्ने र निजी क्षेत्रको लगानी प्रोत्साहित गराउनुपर्ने बताए ।

सुझावित समाचार