भारत प्रशासित जम्मू–कस्मिरमा भएको झडपमा पाँच सुरक्षाकर्मी मारिएको एकजना प्रहरी अधिकारीले मंगलबार बताएका छन्।
सुरक्षा स्रोतका अनुसार आक्रमणकारीहरूले आक्रमणमा रणनीतिक परिवर्तन ल्याएका छन्।
मुस्लिम बहुल कस्मिर सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै भारत र पाकिस्तानबीच विभाजित भएको छ र प्रत्येक पक्षले यसलाई पूर्ण रूपमा दाबी गर्दछ।
विद्रोही समूहहरूले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि विद्रोह गर्दै आएका छन्।
यस घटनाले यस वर्ष विवादित हिमालय क्षेत्रको भारतीय पक्षमा मारिएका सैनिक र प्रहरीको संख्या १७ पुगेको छ।
भारतीय सेना सुरक्षा बलले सोमबार साँझ जम्मु क्षेत्रको राजधानी श्रीनगरबाट करिब एक सय ३५ किलोमिटर दक्षिणपूर्वमा रहेको डोडा जंगलमा अपरेसन सुरु गरेको बताएको छ।
‘प्रारम्भिक गोली हानाहानका क्रममा घाइते भएका चारजना सैनिकको मृत्यु भएको थियो । घाइते भएका थप एकजना प्रहरी अधिकारी पनि पछि मृत्यु भयो । अन्य दुई सैनिकलाई अस्पतालमा भर्ना गरिएको छ,’ एक प्रहरी अधिकारीले बताएका छन् । (रासस / एएफपी)