संखुवासभाको सिलिचोङ गाउँपालिका– १ सिसुवाखोलामा ढुंगाले किचेर तीनजना गम्भीर घाइते भएका छन्। आज मंगलबार बिहान करिब ५ बजेतिर घरमाथिबाट पहिरोसहित खसेको ढुंगाले किचेर एकै परिवारका तीनजना घाइते भएका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए।
घाइतेहरूको अवस्था गम्भीर भएकाले मन्त्रालयसँग समन्वय गरी हेलिकाेप्टर माग गरिएको र मौसम बिस्तारै खुल्दै गएकाले हेलिकोप्टर आएपछि उपचारका लागि पठाइने प्रजिअ खड्काले बताए। ‘घटनास्थल दुर्गम ठाउँमा रहेकाले सिसुवा बजारबाट पैदल दुई घण्टाभन्दा बढी समय लाग्छ । ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकसहितको टोली घटनास्थलमा जाँदै छ । पुग्न केही समय लाग्छ,’ उनले भने।
सिलिचोङ गाउँपालिका– १ का वडाध्यक्ष गणेश कुलुङका अनुसार स्थानीय करिब ५५ वर्षकी मोतीमाया कुलुङ, २५–२६ वर्षकी समीक्षा कुलुङ र रमिला कुलुङलाई पहिरोसँगै खसेको ढुंगाले किचेको हो। उनीहरूमध्ये दुईको मृत्यु भइसकेको बताइए पनि अस्पताल र प्रहरीले पुष्टि गर्न बाँकी छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। घटनास्थल सदरमुकाम खाँदबारीदेखि एक दिन टाढा पर्छ।
अविरल वर्षाका कारण गोठमाथिबाट पहिरोसँगै आएको ढुंगाले किचेर घटना भएको हो। यो वर्षको मनसुन सुरु भएपछि हालसम्म संखुवासभामा चारजनाको बाढिपहिरो र चट्याङ लागेर मृत्यु भइसकेको छ।