सुषुप्त हत्यारा ‘ट्रान्स फ्याट’ उन्मूलन गरौँ

मंगलबार, १ साउन, २०८१
डिजिटल संस्करण

‘ट्रान्स फ्याट’ हटाउनु भनेको नसर्ने रोगविरुद्ध लड्ने र जीवन बचाउने लागत–प्रभावी उपाय हो

कुकिज, पिज्जा, केकलगायत खाद्यपदार्थ स्वादिष्ट छन्, तर यी सम्भावित रूपमा घातक पनि छन् । यी खाद्यपदार्थमा प्रायः चिनी, नुन वा बोसोको मात्रा उच्च हुने गर्छ । यसबाहेक यी खाद्यपदार्थमा एक विषाक्त तत्व हुन सक्छ, जसले निम्त्याउने कोरोनरी हृदय रोगबाट प्रत्येक वर्ष करिब तीन लाख मानिसको ज्यान जान्छ । यो विषाक्त तत्व औद्योगिक रूपमा उत्पादन हुने ‘ट्रान्स फ्याट’ (बोसो) हो ।

यसलाई २०औँ शताब्दीको प्रारम्भमा नौनीको विकल्पका रूपमा आविष्कार गरिएको र पछि खाद्य उत्पादनलाई लामो समयसम्म बिग्रन नदिन प्रयोग गरिएको थियो । औद्योगिक रूपमा उत्पादन गरिएको ट्रान्स फ्याट मानव स्वास्थ्यका लागि अत्यधिक खतरनाक छ । ट्रान्स फ्याट उपभोगको कुनै सुरक्षित स्तर छैन । खुसीको कुरा के छ भने यसलाई सजिलै स्वस्थ विकल्पले प्रतिस्थापित गर्न सकिन्छ । यसो गर्दा स्वाद वा उत्पादन लागतमा कुनै भिन्नता आउँदैन । यस किसिमको परिवर्तनले प्रत्येक वर्ष लाखौँ जीवन जोगाउन सकिन्छ ।

६ वर्षअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले देशलाई र खाद्य क्षेत्रलाई विश्वव्यापी खाद्य आपूर्तिबाट औद्योगिक रूपमा उत्पादन हुने ट्रान्स फ्याट हटाउन आह्वान गरेको थियो । त्यसवेला विश्वको जनसंख्याको एक सानो अनुपात अर्थात् १० मध्ये एकजनाभन्दा कम मात्रै यो विषाक्त तत्वबाट सुरक्षित थियो ।

विश्वव्यापी ट्रान्स फ्याट उन्मूलनको अवस्थाबारे डब्लुएचओको नयाँ प्रतिवेदनले विगत केही वर्षमा हामीले हासिल गरेको बृहत् प्रगतिको विवरणबारे उल्लेख गरेको छ । आज करिब चार अर्ब जनसंख्या भएका ५३ देशले डब्लुएचओले सिफारिस गरेको उत्कृष्ट अभ्यास नीति लागू गरिरहेका छन् । यी नीतिमा ट्रान्स फ्याटमा प्रतिबन्ध वा सीमितता समावेश छन् । यसले विश्वको आधा जनसंख्याका लागि ठूलो स्वास्थ्य जोखिम हटाउन मद्दत गरिरहेको छ ।

डेनमार्क, लिथुआनिया, पोल्यान्ड, साउदी अरेबिया र थाइल्यान्डलाई ट्रान्स फ्याटमुक्त बन्ने प्रयासका लागि डब्लुएचओले मान्यता दिएको छ । यी मुलुकले उत्कृष्ट अभ्यास मात्र अपनाएका छैनन् । यिनले स्वास्थ्य लाभ कायम राख्न अनुगमन एवं प्रवर्तन ढाँचा पनि लागू गरेका छन् । यद्यपि अझै धेरै काम गर्न बाँकी छ किनभने चार अर्बभन्दा बढी मानिस ट्रान्स फ्याटबाट असुरक्षित छन् । सबैभन्दा धेरै ट्रान्स फ्याटसम्बन्धी मृत्यु मुख्यतया अफ्रिका र एसिया प्रशान्त क्षेत्रका आठ देशमा देखिएको छ । यी देशमा उत्कृष्ट अभ्यास नीति लागू गर्नाले यो हानिकारक तत्वसँग जोडिएको विश्वव्यापी मृत्युको ९० प्रतिशत मृत्युलाई रोक्न सक्छ, जसले गैरसंक्रामक रोगविरुद्धको लडाइँमा महत्वपूर्ण सुरुवात गर्छ । ट्रान्स फ्याट प्रतिबन्ध विश्वव्यापी रूपमा बढ्दै जाँदा खाद्य उत्पादकले अन्य ठाउँमा प्रतिबन्धित यो विषाक्त रसायनयुक्त उत्पादनलाई बेलगाम बजारमा बिक्री गर्न सक्छन् ।

सबै देशले (न्यून या उच्च आय भएका) ट्रान्स फ्याटसम्बन्धी नियम लागू गरेर आफ्नो जनसंख्याको रक्षा गर्न सक्छन् । ट्रान्स फ्याट हटाउनु भनेको नसर्ने रोगविरुद्ध लड्न र जीवन बचाउने लागत–प्रभावी उपाय हो । अर्जेन्टिना, केन्या, नाइजेरिया, बेलायत, अमेरिका र युरोपियन युनियनका अध्ययनले ट्रान्स फ्याटलाई लागत, स्वाद वा उपलब्धतालाई असर नगरी स्वस्थ विकल्पसँग बदल्न सकिन्छ भन्ने देखाउँछ ।

प्रभावकारी ट्रान्स फ्याट नीति भएका देशले आफ्नो अनुभव साझा गरेर अरूलाई सहयोग गर्न सक्छन् । खाद्य उत्पादक विशेषतः ट्रान्स फ्याटबाट लाभ उठाउने ठूला कम्पनीले स्वस्थ विकल्पमा लगानी गर्नुपर्छ । विश्वव्यापी पैरवीकर्ताले डब्लुएचओले सिफारिस गरेका नीतिलाई प्रोत्साहन गरेर ट्रान्स फ्याटको पूर्ण उन्मूलनका लागि जोड दिनुपर्छ । ट्रान्स फ्याटरहित संसार हासिल गर्न तीन मुख्य कार्य आवश्यक छन् ।

सर्वप्रथम हामी सबै सरकारलाई डब्लुएचओको सिफारिसअनुसार सबै खाद्य पदार्थमा ट्रान्स फ्याट सीमित गर्न वा प्रतिबन्ध गर्न आग्रह गर्छौं । यसमा प्रतिसय ग्राम कुल फ्याटको दुई ग्राम औद्योगिक रूपमा उत्पादित ट्रान्स फ्याटको राष्ट्रिय सीमा तय गर्न र सबै खाद्यपदार्थमा कृत्रिम ट्रान्स फ्याटको प्रमुख स्रोत हाइड्रोजनयुक्त तेललाई आंशिक रूपमा प्रतिबन्ध लगाउने विषय समावेश छ ।

दोस्रो, हामी सीमा र प्रतिबन्ध अनुगमन एवं लागू गरिएको सुनिश्चित गर्न सरकारलाई आह्वान गर्छौं । प्रवर्तनलाई प्रोत्साहित गर्न र बलियो बनाउन डब्लुएचओले ट्रान्स फ्याट हटाउने देशको प्रयासलाई औपचारिक रूपमा मान्यता दिन ‘ट्रान्स फ्याट फ्री’ प्रमाणीकरण कार्यक्रम सिर्जना गरेको छ । यसअघि डब्लुएचओले मलेरियालगायत रोग हटाउने देशलाई मान्यता दिँदै आएको छ । 

तेस्रो हामी खाद्य उद्योगलाई स्वस्थ बोसोले ट्रान्स फ्याटलाई प्रतिस्थापन गरेर र हृदय रोगसँग जोडिएको ‘स्याचुरेटेड फ्याट’ बोसोलाई कम गरेर डब्लुएचओको सिफारिस अपनाउन आग्रह गर्छौं । कम्पनीले नियमविना बजारमा ट्रान्स फ्याट भएका उत्पादन बेच्न रोक्नैपर्छ । केही ठूला निर्माताले यो परिवर्तन सुरु गरेका छन् र अन्य कम्पनीले पनि यिनलाई पछ्याउनुपर्छ ।

विश्वव्यापी रूपमा औद्योगिक रूपमा उत्पादित कृत्रिम ट्रान्स फ्याट हटाउने अभियान हृदय रोगका लागि आहार जोखिम कारक पूर्ण रूपमा हटाउन समन्वित प्रयासको पहिलो उदाहरण हो । हामीसँग सफल हुनका लागि ज्ञान र प्रभावकारी रणनीति छन् । विश्वले महत्वपूर्ण प्रगति गरिरहेको छ । अब राष्ट्रिय नेताले आफ्ना नागरिकलाई यो हानिकारक खाद्य अतिरिक्तबाट सुरक्षित राख्ने समय आएको छ ।

(घेब्रियासस विश्व स्वास्थ्य संगठनका महानिर्देशक हुन् भने फ्रिडेन रिफर्म टु सेभ लाइभ्सका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हुन्) 
अल जजिराबाट

सुझावित समाचार