नबिल बैंकले स्थापनाको ४०औँ वर्षको अवसरमा तस्बिर प्रदर्शनी सुरु गरेको छ । ‘चार दशक नेपालको’ नाम दिइएको प्रदर्शनी दरबारमार्गस्थित केन्द्रीय कार्यालयपरिसरमा सुरु भएको हो । प्रदर्शनीमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र, सञ्चार, यातायात तथा मुद्राको चलनमा आएको परिवर्तनलाई सचित्र बुझाउने प्रयास गरिको छ । गोरखापत्र संस्थान र नबिल बैंकको साझेदारीमा शुक्रबारदेखि सुरु भएको प्रदर्शनी एक सातासम्म चल्ने जनाइएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले तस्बिर प्रदर्शनले मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै भएका आर्थिक परिवर्तनलाई नजिकबाट बुझाउने प्रयास गरेको बताए ।
‘प्रदर्शनी इतिहास बुझ्ने अवसर पनि हो, पछिल्लो चार दशकमा मुलुकको विकासको गति थाहा पाउने अवसर पनि हो,’ उनले भने, ‘प्रदर्शनीमा राखिएका तस्बिरले नेपालको चार दशकमा भएका मुख्य परिवर्तनलाई समेट्ने प्रयास गरिएको छ ।’ साथै, उनले पछिल्लो चार दशकमा राजनीतिक रूपमा मुलुकमा अस्थिरता भए पनि मुलुकले विकास निर्माणका काम भने भइरहेको बलियो प्रमाण तस्बिरहरू भएको बताए ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पछिल्लो समय मुलुकमा केही पनि विकास भएन भन्ने भाष्य स्थापित भइरहेको अवस्थामा गोरखापत्र संस्थानले नबिल बैंकसँग व्यावसायिक साझेदारीमा सुरु गरेको तस्बिर प्रदर्शनीका माध्यमबाट विकास निर्माणलाई देखाउन खोजेको बताए ।
प्रदर्शनीमा ६० भन्दा बढी तस्बिर राखिएको छ । प्रदर्शनीमा मण्डला बनाउनुअघि माइतीघरमा रहेका घर भत्काउँदै गरेका तस्बिरदेखि ५० सालतिर काठमाडौंको भरपर्दा यातायातको साधन विक्रम टेम्पो तथा ट्रली बसका ऐतिहासिक तस्बिर राखिएको छ । साथै, ०४५ सालमा भारतले नाकाबन्दी लगाउँदा मट्टीतेलका लागि लामबद्ध सर्वसाधारण, नाकाबन्दीपछि बंगलादेशबाट हवाई उडानमार्फत डिजेल ल्याइँदै गरेका तस्बिर पनि देख्न सकिन्छ । भारतले तत्कालीन समयमा ०४५ चैत १० गतेदेखि ०४७ असोज १७ गतेसम्म नाकाबन्दी गरेको थियो ।
त्यसैगरी, नेपाल वायुसेवा निगमले ०४३ सालमा खरिद गरेको गण्डकी नामक बोइङ ७५७ मा पहिलो पटक यात्रु अवतरण गर्ने क्रमको ऐतिहासिक तस्बिरसँगै ०५२ सालमा रासायनिक मलको माग गर्दै भद्रकालीमा जम्मा भएका किसान र मरुहिटीमा कपडा धुने र नुहाउने परम्परा झल्काउने तस्बिर पनि प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा नबिल बैंकको इतिहास सुरुवाती दिनमा प्रयोगमा ल्याएको फ्याक्स मेसिन र प्रिन्टिङ मेसिन, नबिल बैंकको पुरानो कार्यालय भवन र ग्राहकले सेवा लिँदै गरेको पनि देख्न सकिनेछ ।