०८०/८१ मा लक्ष्यको ७५.५६ प्रतिशत राजस्व उठ्यो, बजेट खर्च ८०.७५ प्रतिशत

सोमबार साँझ साढे सात बजेसम्म १४ खर्ब नौ अर्ब खर्च, राजस्व संकलन १० खर्ब ७४ अर्ब ९७ करोड

मंगलबार, १ साउन, २०८१
डिजिटल संस्करण

अर्थशास्त्री डिल्लीराज खनाल भन्छन्–बेरुजु बढेको बढ्यै छ । वर्षको अन्तिममा जथाभावी खर्च भएकै छ । जवाफ दिइएको छैन । कानुनको शासन र जवाफदेहिता नभएसम्म यो प्रवृत्तिले निरन्तरता पाइरहनेछ ।

आर्थिक वर्ष ०८०/८१ मा पनि सरकार लक्ष्यअनुसार खर्च गर्न असफल भएको छ । कुल १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको सरकारले ८०.४५ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता नारायण सापकोटाका अनुसार सोमबार साँझसम्म १४ खर्ब नौ अर्ब खर्च भएको छ । आइतबार मात्रै ११ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको छ । 

वर्षभरि हुने खर्चको १६.३२ प्रतिशत खर्च असार महिनामा मात्रै भएको देखिन्छ । महालेखा परीक्षकको प्रतिवेदनले वर्षान्तमा हुने खर्चमा मनपरी हुन सक्ने औँल्याउँदै यस्तो खर्चलाई कम गर्न सुझाव दिँदै आएको छ । तर, सरकारले भने आर्थिक वर्षको अन्तिम महिनामा धमाधम रकमान्तर गरी खर्चको भेल बगाएको छ ।  

प्रत्येक वर्ष बजेटमा खर्चको प्रणालीगत सुधार र सुशासन कायम गर्ने विषय उल्लेख हुने गरे पनि कार्यान्वयनमा नआउँदा सरकार बजेट खर्चमा चुक्ने गरेको अर्थशास्त्रीहरूको भनाइ छ । सबैभन्दा चिन्ताको विषय सरकारले गर्ने खर्चमा उत्पादनशील र पुँजीगत क्षेत्रको हिस्सा खुम्चिँदै गइरहेको अर्थशास्त्री डिल्लीराज खनालको विश्लेषण छ । उनले भने, ‘बजेट प्रणालीमा सुधार गर्छाैँ भन्ने, तर जुन ठाउँमा सुधार हुनुपथ्र्याे, भएन । उत्पादनशील र पुँजीगत क्षेत्रमा खुम्चिँदै गइरहेको छ । अनुत्पादक खर्च बढ्दै जाने गरेको पाइन्छ ।’ 

राजस्व वृद्धिदर १२.३ प्रतिशत 
सरकारले चालू आर्थिक वर्षको सोमबार साढे सात बजेसम्म राजस्व संकलन १० खर्ब ७४ अर्ब ९७ करोड गरेको छ । आइतबारसम्ममा राजस्व संकलन १० खर्ब ३० अर्ब ३४ करोड रुपैयाँ मात्रै थियो । आर्थिक वर्षको अन्तिम दिन सोमबार साँझ साढे सात बजेसम्ममा एकै दिन ४४ अर्ब ६३ करोडको राजस्व संकलन भएको छ । राजस्व संकलन वार्षिक लक्ष्यको ७५.५६ प्रतिशत मात्रै उठेको छ । समीक्षा अवधिमा सरकारले १४ खर्ब २२ अर्ब ५४ करोडको राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । अर्थात्, लक्ष्यको तुलनामा तीन खर्ब ५८ अर्ब ५७ करोडले कम राजस्व संकलन भएको छ । यद्यपि, आर्थिक वर्ष ०७९/८० को तुलनामा राजस्व संकलन १२.३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७९/८० मा राजस्व संकलन नौ खर्ब ५७ अर्ब १५ करोड मात्रै थियो । त्यस्तै, गत १५ असारसम्म ९० अर्ब हाराहारी मात्रै पुगेको बाह्य ऋण मसान्तसम्म आइपुग्दा एक खर्ब १६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । सरकारले आन्तरिक ऋण भने दुई खर्ब ४५ अर्ब उठाएको छ । 

असारमा मात्रै बजेटको औसत २०% खर्च
विगत चार वर्षयता कुल बजेटको औसत २०.०६ प्रतिशत असारमा मात्रै खर्च हुने गरेको पाइएको छ । आर्थिक वर्ष ०७७/७८ मा कुल ११ खर्ब ८० अर्बको कुल बजेट खर्चमध्ये दुई खर्ब ६४ अर्ब (२२.३६%) असारमा खर्च भएको थियो । ०७८/७९ मा १२ खर्ब ९६ अर्ब २४ करोडको कुल खर्चमध्ये दुई खर्ब ६० अर्ब (२०.१%) खर्च असारमा भएको थियो । त्यस्तै, आव ०७९/८० मा १४ खर्ब २९ अर्ब कुल खर्च भएको असारमा मात्रै दुई खर्ब ५३ अर्ब (१७.७३%) खर्च भएको थियो ।  ०८०/८१ मा भने असारमा १६.३२% खर्च भएको छ । 

See More On

सुझावित समाचार