युवा तथा खेलकुद मन्त्रालय सम्हालेको पहिलो दिन नै मन्त्री चौधरीले पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए
नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन सम्बन्धित निकायलाई दिएका छन् । मन्त्रालयमा सोमबार पदभार गरेसँगै मन्त्री चौधरीले खेलकुद पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका खेलाडीहरूको सहभागिता व्यवस्थित गर्ने उनले निर्देशन दिएका छन् ।
‘पेरिसमा हुने ओलम्पिक प्रतियोगितामा छनोट भएका खेलाडीहरूको प्रशिक्षण र सहभागितालाई व्यवस्थित गर्न निर्देशन दिन्छु,’ मन्त्री चौधरीले भने । पदभार गरेको पहिलो दिनै उनले कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रतियोगिता आगामी मंसिरमा हुने छ ।
‘१०औँ राष्ट्रिय खेलकुद समयमै हुनुपर्छ, मन्त्रालयले यसका लागि सबै सहयोग प्राप्त हुनेछ,’ उनले भने । मन्त्री चौधरीले खेल संघमा देखिएको विवादलाई टुंग्याएर सकारात्मक सन्देश दिनुपर्ने जनाए । ‘विभिन्न खेल संघमा देखिएका विवादलाई समयमै टुंग्याएर खेल क्षेत्र एकजुट छ भन्ने सन्देश दिन जरुरी छ,’ उनले भने, ‘त्यसको पहल गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिन्छु ।’
राष्ट्रिय खेलकुद परिषद्मा प्राविधिक जनशक्तिको अभाव भएको आफूलाई जानकार भएको उनको भनाइ छ । ‘राखेपमा प्रावधिक जनशक्ति कम भएको मलाई थाहा छ, यसमा पनि आफ्नो विशेष पहल रहनेछ,’ उनले भने । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता विराजभक्त श्रेष्ठले चार महिना युवा तथा खेलकुद मन्त्रालय सम्हालेका थिए । सरकार परिवर्तन भएसँगै नेपाली कांग्रेसका चौधरीले यो मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।