राखेपले २०औँ एसियन खेलकुद प्रतियोगितामा दोहोरो अंकको पदक जित्ने लक्ष्यसहित १५ माघ ०८० देखि सुरु गरेको मिसन २०२६ मा १० खेलका खेलाडीले दुई चरणमा प्रशिक्षण गरेका छन्
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले २०औँ एसियन खेलकुद प्रतियोगितामा दोहोरो पदक जित्ने लक्ष्यसहित राखेको विशेष प्रशिक्षण आइतबार सकिएको छ । राखेपले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण राखेको हो । दुई चरणमा भएको विशेष प्रशिक्षणमा १० खेलका खेलाडी सहभागी भएका थिए । १५ माघ ०८० देखि मिसन २०२६ अन्तर्गत पहिलो चरणमा कराँते, तेक्वान्दो, उसु, जुडो र बक्सिङलाई समावेश गरी राष्ट्रिय टिमको विशेष प्रशिक्षण सुरु भएको थियो ।
दोस्रो चरणमा गत ६ जेठदेखि महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स थप्दै खेल संख्या १० पु¥याइएको थियो । जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेपले राखेको छ । नेपाली खेलकुदको इतिहासमा कुनै पनि एसियाली खेलकुद सम्पन्न भएलगत्तै आगामी संस्करणका लागि तयारी सुरु गरिएको पहिलोपटक हो ।
‘मिसन २०२६ परिषद्को विभिन्न कार्यक्रममध्येको मुख्य कार्यक्रम हो,’ सदस्यसचिव टंकलाल घिसिङले भने, ‘अर्को आर्थिक वर्षमा पनि यसलाई निरन्तरता दिइनेछ । चाँडै प्रशिक्षण सुरु गर्छौँ । त्यसैले यसलाई समापन भन्दिनँ ।’ उनले सदस्यसचिव भएपछि दुई फाइल सदर गरेको बताए ।
उनले राष्ट्रिय टिम तयारीका लागि प्रस्ताव गरेको भन्दा बजेट कम आए पनि चालू आर्थिक वर्षको भन्दा बढी बजेट आएको जानकारी गराए । ‘प्रशिक्षणका लागि बजेट कम भए पनि चालू आवको तुलनामा यसपटक बढी बजेट विनियोजन भएको छ,’ उनले भने, ‘सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा फिजिकल फिटनेस सेन्टर बनाउन यसै हप्तामा टेन्डर आह्वान हुँदै छ ।