नक्कली जग्गाधनी पुर्जा बनाई ऋण लिएर १९ करोड हिनामिना

एकदेखि चार वर्षसम्म कैद सजाय

आइतबार, ३० असार, २०८१
डिजिटल संस्करण

नक्कली जग्गाधनी प्रमाणपुर्जालगायतका कागजात बनाई कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिएर हिनामिना गरेको मुद्दामा विशेष अदालतले सजाय सुनाएको छ। २३ असारमै कसुर कायमको फैसला भए पनि आइतबार भने सजाय निर्धारण भएको हो। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक वर्ष अघि मुद्दा दायर गरेकोमा एक कम्पनीसहित नौजना दोषी ठहर भएका थिए। दुईजनालाई भने सफाइ दिइएको थियो। 

मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई जनही दुई वर्ष कैद हुने भएको छ भने सात करोड ६० लाख रुपैयाँ जरिवाना हुने फैसला भएको छ।

यसैगरी, विल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाल, मेरलाइन इन्टरप्राइजेज र यसका उविन्द्रराज शाक्यलाई भने विशेषले जनही चार वर्ष कैद तथा सात करोड ६० लाख रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ। 

यस मुद्दामा रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानको हकमा एक–एक वर्ष कैद तोकिएको छ भने उनीहरूले जरिवानाबापत तीन करोड ८० लाख रुपैयाँ तिर्नुपर्ने। यस प्रकरणमा मेरलायन इन्टरप्राइजेज र यस कम्पनीका उविन्द्रराज शाक्य दोषी ठहर भएका थिए भने मुक्तिनाथ गौतम, एसकुमार महर्जन र विल्वा भूमि वन प्रा.लि.का नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाललाई मुख्य कसुरदार मानिएको थियो। 

विभागले २१ असार ०८० मा ११ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो। यस मुद्दामा विशेषका सदस्यहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो। यस मुद्दामा अनुजमणि तिमिल्सिना र स्मृति जोशीले भने सफाइ पाएका थिए। उनीहरू आफैँ सक्कली धितो भनी झुक्यानमा परेका कारण उनीहरूले ऋण स्वीकृत गरे पनि उनीहरूलाई सफाइ दिइएको कसुर ठहर आदेशमा उल्लेख थियो। 

विशेषले रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई मतियार मान्दै सजाय निर्धारण गरेको हो। विल्वा कम्पनीका नाममा दर्ता रहेको १२ रोपनी एक आना जग्गा डेनियल कम्पनी प्रा.लि. का नाममा रहेको भनी किर्ते जग्गाधनी पुर्जा खडा गरिएको विभागको अनुसन्धानले देखाएको थियो। उक्त जग्गा धितो राखी कुमारी बैंक न्युरोड शाखाबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। 

यस प्रकरणमा जिल्ला अदालत काठमाडौंबाटसमेत फैसला भइसकेको छ। डेनियल कम्पनीका सञ्चालकहरू गौतम र महर्जनले आफ्नो कम्पनीका नाममा जग्गा खरिद गर्न मेरलायन इन्टरप्राइजेजका उविन्द्रराज शाक्यलाई अख्तियारी दिएका थिए। तर, उनले विल्वाको जग्गा बिक्री गर्न भनी आफ्नो नाममा नक्कली अख्तियारी बनाई झुटा जग्गाधनी प्रमाणपुर्जासमेत खडा गरेको भेटिएको थियो। 

उक्त नक्कली जग्गाधनी प्रमाणपुर्जाका आधारमा ऋण लिइएको थियो भने रेसमबहादुर सिलवालसमेतले विल्वाका नाममा नक्कली बैंक खाता खोले र उक्त खातामा पैसा जम्मा गरेका थिए। रकममध्ये १५ करोड रुपैयाँ भने मेरलायन इन्टरप्राइजेजको नाममा ट्रान्सफर गरेर उक्त खाता बन्द गरिएको भेटिएको थियो। 

तर, खाता बन्द गर्नुभन्दा पहिले बाँकी रहेको रकम विभिन्न व्यक्तिलाई पठाइएको थियो। उक्त खाताबाट दुई करोड ५० लाख र मेरलायनको खाताबाट पाँच करोड रुपैयाँ रामप्रसाद अधिकारीको खातामा स्थानान्तरण भएको थियो। 

नक्कली कागजातका आधारमा खोलिएको खाताबाट नौ लाख ९० हजार रुपैयाँ शोभा शाक्यका नाममा पठाइएको थियो भने एक करोड आठ लाख रुपैयाँ ईश्वर पोखरेलको खातामा स्थानान्तरण भएको थियो । उक्त रकमको प्रयोजन खुलाउन नसकेपछि विशेषले उनीहरूलाई मतियार मानेको हो। शोभा र कुशन प्रधानले नक्कली धितो राखी ऋण लिन सहयोग गरेका ठहर इजलासको छ। यस प्रकरणमा अधिकारी, शाक्य, पोखरेल र प्रधान मतियार ठहर भएका हुन्।

सुझावित समाचार