इजरायली ‘नरसंहार’ र वार्तामा उसको मनोवृत्तिका कारण गाजाको युद्धविरामका लागि आयोजना गरिएको वार्ताबाट आफूहरू पछि हटेको हमासका एक वरिष्ठ अधिकारीले बताएका छन्।
हमासका अर्का एक अधिकारीले हमासका सैन्य नेता मोहम्मद देइफलाई लक्षित गरी आक्रमण गरे पनि उनी ‘सकुशल’ रहेको र इजरायलले गाजाको दक्षिणी शिविरमा व्यापक गोलाबारी गरिरहेको बताए।
गाजाको स्वास्थ्य मन्त्रालयले शिविरमा भएको आक्रमणमा परी ९२ जनाको मृत्यु भएको जनाएको छ। हमासका राजनीतिक नेता इस्माइल हनियाले अन्तर्राष्ट्रिय मध्यस्थकर्ता कतार र इजिप्टलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनामा पहिलोपटक अघि सारेको युद्धविराम योजनामा वार्ता समाप्त भएको बताएका छन्।
युद्धविराम योजनामा सम्झौताको पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणमा लिइएका अधिकांश बन्धकहरूको आदानप्रदानसहित ६ हप्ताको युद्धविराम हुने थियो।
‘हमासले इजरायली गम्भीरताको कमी, ढिलासुस्ती र अवरोधको निरन्तर नीति र निहत्था नागरिकविरुद्ध जारी नरसंहारका कारण वार्ता रोक्नेछ,’ हनियाले भने, ‘हमासले सम्झौतामा पुग्न र आक्रामकता अन्त्य गर्न ठूलो लचकता देखाएको छ र जब इजरायल सरकारले युद्धविराम सम्झौता र कब्जा कैदी आदानप्रदान सम्झौतामा पुग्न गम्भीरता देखाउँछ तब वार्ता पुनः सुरु गर्न तयार छ।’
हनियाले शनिबार अबेर एक वक्तव्य जारी गर्दै आफूले मध्यस्थकर्ता र अन्य देशलाई फोन गरेर आक्रमण रोक्न इजरायललाई दबाब दिन आग्रह गरेको बताएका छन्।
इजरायलले अक्टोबर ७ मा भएको आक्रमणको ‘मास्टरमाइन्ड’मध्येका एक मानिएका देइफ दक्षिणी गाजाको अल–मावासी शिविरमा भएको आक्रमणको निशानामा रहेको बताएको छ। तर, हमासले भने देइफ शिविरमा रहेको पुष्टि नगरी उनी जीवित रहेको र काम गरिरहेको बताएको छ।
‘कमान्डर मोहम्मद देइफले इजेदिन अल–कासम ब्रिगेड र प्रतिरोध अभियानको प्रत्यक्ष रेखदेख गरिरहनुभएको छ,’ हमासको सशस्त्र शाखालाई उद्धृत गर्दै ती अधिकारीले भने।
गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी करिब एक हजार २०० जनाको मृत्यु भएको इजरायलद्वारा पुष्टि गरेको तथ्यांकमा उल्लेख छ।
हमास लडाकुले २५१ बन्धकलाई कब्जामा लिएकामा करिब सयजना रिहा भइसकेको, ११६ जना गाजामा रहेको र ४२ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ।
हमास आक्रमणको बदलामा इजरायलले जवाफी कारबाही सुरु गरेको र गाजामा कम्तीमा ३८ हजार ४४३ जनाको मृत्यु भएको हमासको नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ। रासस/एएफपी