सन् २०१६ मा भारतले आयोजना गरेको १२औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तीन स्वर्ण पदक जितेको थियो । तीनमध्ये एक स्वर्ण उसुकी निमा घर्तीमगरको नाममा रह्यो । १६ वर्षीया निमाले सिलोङमा भएको उसुको नानछ्वाङ अलराउन्डतर्फ भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी थिइन् । १२औँ सागमा नेपाललाई पहिलो स्वर्ण दिलाउने उनी नै थिइन् । उनले पहिलो चरणमा ८.४५ र दोस्रो चरणमा ८.४६ सहित कुल १६.९१ अंक पाएकी थिइन् । रोल्पामा जन्मिएकी निमाले १४ वर्षमा उसु खेलेकी थिइन् । यसको दुई वर्षभित्र नै उनले ऐतिहासिक सफलता चुमिन् । १३औँ सागमा पनि स्वर्ण जितेकी निमाले १२औँ सागमा प्राप्त सफलताको अनुभव नयाँ पत्रिकाका रमेश सुवेदीलाई सुनाइन् :
भारतको सिलोङमा १२औँ साग खेल्न जाँदा म १६ वर्षकी मात्रै थिएँ । त्यही समयमा माध्यमिक तह (एसइई)को परीक्षा र खेल सँगै हुने तय थियो । सिद्धिपुरको डन बस्को स्कुलले सकेसम्म मलाई प्रशिक्षणमा पठाउन चाहेको थिएन । म समय मिलाएर बिहान नियमित प्रशिक्षण गर्न जान्थेँ । मेरो पढाइ ठिकै थियो । त्यति नराम्रो पनि होइन । म कक्षामा एभरेज विद्यार्थी थिएँ । प्रशिक्षण लिँदा धेरैपटक नियमित क्लास लिन पाइनँ । विशेषतः पहिलो विषय सधैँ छुट्ने गरेको थियो । त्यसैले स्कुलले मलाई साग खेल्न अनुमति दिन मानिरहेको थिएन । तर, उसु संघका पदाधिकारीले धेरै अनुरोध गरेपछि मैले प्रशिक्षणलाई थप समय दिन पाएँ ।
यद्यपि, उसुको प्रशिक्षण र पढाइलाई समानान्तर रूपमा राम्रो गर्न सकिरहेकी थिइनँ । स्कुलले संघमा धेरै उजुरी पनि गर्यो । स्कुलले हाम्रो विद्यार्थीको पढाइ बिग्रिन्छजस्ता कुरा संघमा राखेको थियो । सागको प्रशिक्षणका कारणले प्रि–बोर्ड परीक्षामा सहभागी हुन सकिनँ । प्रि–बोर्ड परीक्षा चलिरहँदा पोखरामा एक महिना प्रशिक्षण चलेको थियो । जुन मैले स्कुललाई जानकारी नै गराएकी थिइनँ । बाबा (मन्सुर घर्तीमगर)ले स्कुलमा मेरो पोखरामा भइरहेको प्रशिक्षणबारे जानकारी गराउनुभयो । तर, स्कुलले मानेन । पछि उसु संघका पदाधिकारीले प्रशिक्षण सम्बन्धमा जानकारी गराउनुभयो । त्यसपछि स्कुलले पोखरा पुगिसकेकी मलाई प्रशिक्षणका लागि स्वीकृति दियो ।
तर, सरहरूले परीक्षा बिग्रेको खण्ड आफूहरूले जिम्मेवारी नलिने सर्त राख्नुभयो । मैले देशका लागि स्वर्ण जितेर फर्किएको केही समयपछि नै एसइई परीक्षा सुरु भयो । मैले धेरै मिहिनेत गरे र पास गरेँ । अहिले स्नातकमा अध्ययन गर्दै छु ।
अर्काे खेलाडीले सन्न्यास लिएपछि टिममा छनोट
मेरो गुरु नीराजन आलेमगर हुनुहुन्थ्यो । निन्जा उसु क्लबमा उहाँले नै दिएको निर्देशन र प्रशिक्षणले यो उपलब्धि हासिल गरेकी हुँ । उहाँले खेल करिअरपछि प्रशिक्षण सुरु गर्नुभएको हो । त्यतिवेला विद्या महर्जन (अहिले प्रशिक्षक) र मबीच राष्ट्रिय च्याम्पियनसिपमा प्रतिस्पर्धा हुने गथ्र्याे । त्यसबखत उहाँ सधँै घरेलु प्रतियोगितामा प्रथम आउनुहुन्थ्यो । म भने उहाँपछि दोस्रो हुन्थेँ । उहाँले १२औँ सागअघि सन्न्यास लिएपछि दोस्रो स्थानमा रहेकी मैले अवसर पाएँ । दोस्रो भएको खेलाडीलाई सागको बन्द प्रशिक्षणमा राखेपछि १६ वर्षको उमेरमै देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पक्का भयो ।
भारतले १२औँ साग गुवाहाटी र सिलोङमा आयोजना गरेको थियो । उसु खेल सिलोङमा हुने तालिका थियो । हामी सोहीअनुसार त्यसतर्फ प्रस्थान गर्यौँ । काठमाडौंदेखि सिलोङसम्मको लामो यात्रा निकै कष्टकर रह्यो । जाँदा–आउँदा घटना उस्तै भए । स्वर्ण पदक जितेर फर्कँदा धेरै दुःख खेप्नुपर्यो । काठमाडौंबाट काँकडभिट्टासम्म हवाईमार्गबाट गयौँ । काँकडभिट्टाबाट सिलगुडीसम्म बसकै यात्रा भयो । सिलगुडीबाट पनि गुवाहाटीसम्म बसमै गएका थियाँै । त्यतिवेला बसको यात्रा निकै दुःखद थियो । त्यसकारण अहिले पनि सम्झन मन लाग्दैन । गुवाहाटीबाट सिलोङसम्म हवाईमार्गबाट गएका थियौँ । तर, होटेलमा पुगेपछि सबै दुःखकष्ट बिर्सिएँ ।
स्वर्ण जितेर काठमाडौं फर्कँदा पनि उस्तै दुःख भयो । काँकडभिट्टाबाट काठमाडौं आउँदा आधा खेलाडी छुट्टिएका थिए । उसुको टोली अलपत्र भयो । पदाधिकारीबीच एकैपटक जाने कि नजाने विषयमा विवाद चलेको थियो । खासमा सिलोङबाट काँकडभिट्टासम्म आउँदा सबै खेलाडी बिरामी थिए । बान्ता (भोमिट) नगर्ने कमै थिए । बाटो अति नै घुम्ती थियो । फेरि द्रुतगतिमा गाडी हुइँक्याउँदा समस्या भयो । इटहरीमा एक रात बसेपछि काठमाडौं आयौँ । सरकारले ध्यान नदिँदा धेरै दुःख व्यहोर्नुपर्यो ।
प्रतियोगिताको दिन खानामा समस्या
सिलोङमा बसेको होटेलमा व्यवस्थापन सन्तोषजनक थियो । प्रतियोगिता खेल्ने स्थान र होटेल केही टाढै थियो । खेल खेल्न बिहानै जानुपर्ने हुन्थ्यो । पहिलो दिनको खेलमा खाना खान निकै समस्या भयो । खेलाडीले खाना नै खान पाएनन् । टिम म्यानेजमेन्ट र होटेलबीच सहकार्य नै भएन । तर, भोलिपल्टबाट सबै सहज भयो । खेल्ने स्थानमा खानाका प्याकेट पुगेका थिए । प्याकेटका खाना खाएर देशलाई स्वर्ण पदक जिताएँ ।
अहिले खेलको भिडियो हेर्दा नराम्रो लाग्छ । पुरानो भिडियो हेर्दा हाँस उठ्छ । अहिलेको खेल हेर्दा पहिला केही खेलेजस्तो नै लाग्दैन । अहिले मेरो खेल धेरै चेन्ज भएको छ । अहिले जम्प र मुभमेन्टमा निकै राम्रो भएको छ । प्रतियोगिता चलिरहँदा मैले विपक्षीको खेल कहिल्यै पनि हेर्दिनँ । हेर्न मन लाग्दैन । मिस्टेक हुन पनि सक्छ भनेर विपक्षीको खेल हेर्ने गरेकी छैन । खेल खेल्दा पदक आउँछ भन्नेमा ढुक्क थिएँ । दाइहरू पनि मेरो इभेन्टमा पदक आउँछ भनेर विश्वस्त हुनुहुन्थ्यो ।
उसुको एरिनामा हुँदा आफ्नै प्रदर्शनमा ध्यान दिइरहेकी हुन्छु । हामी प्रतियोगितामा तीन खेलाडी प्रतिस्पर्धामा थियौँ । जसले धेरै नम्बर ल्याउँछ, उसैले पदक जित्ने हो । दुवै प्रतिस्पर्धामा मैले अग्रता लिएकी थिएँ ।
मैले कुल १६.९१ अंक प्राप्त गरेँ । दोस्रो भएकी भारतकी स्वेच्छा जादवको १६.३३ अंक र तेस्रो भएकी पाकिस्तानकी मुबस्श्रा अख्तरको १२.७० अंक थियो ।
भारतमा १२औँ साग चलिरहेको तेस्रो दिनसम्म नेपालले एउटै स्वर्ण पदक जितेको थिएन । १२औँ सागमा पहिलो स्वर्ण पदक जित्ने चेली भएपछि मलाई धेरैले बधाई दिए । त्यसपछि मात्र फुटबल पुरुष टिम र जुडोको फुपु ल्हामु खत्री दिदीले स्वर्ण पदक प्राप्त गर्नुभएको थियो ।
राखेपमा जागिर पाउने आशा थियो, तर पाइनँ
१६ वर्षमै पदक जितेका वेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा मबारे समाचार आएको थियो । त्यतिवेला स्कुलमा खुबै खुसीयाली भएछ । म स्वदेश फर्कँदा मलाई एयरपोर्टमा स्कुलका सर र केही साथी लिन आएका थिए । त्यसवेला स्कुलको परिवार र साथीसँग खुसी साटेँ । नेपालको हकमा खेलाडीले वर्षाैँ खेलिरहने हो भने विभागीय टोलीमै आबद्ध हुनुपर्ने रहेछ । यहाँ खेलाडीका लागि वर्षभरि अभ्यास गर्ने माहोल छ । विभागीय टोलीमा रहँदा जीविकोपार्जन पनि सहज हुन्छ । मलाई लाग्छ, पुलिस–आर्मी र एपिएफले नेपाली खेलकुदमा धेरै योगदान दिएका छन् । विभागीय टिम नभएको भए, खेलाडी देशमै बस्दैनथे होला ।
१२औँ र १३औँ सागपछि मात्रै म नेपाल पुलिस क्लबसँग जोडिएकी हुँ । १२औँ सागमा स्वर्ण पदक जिताउँदा नेपाली सेनामा करारमा थिएँ । ११औँ सागसम्म स्वर्ण पदक विजेतालाई राखेपमा जागिर दिने चलन रहेछ । मेरो पनि सोच त्यही थियो । मलाई पनि राखेपमा जागिर पाउने आशा थियो । स्वर्ण जितेपछि अब सरकारी जागिर पाउने सोचँे । राखेपमा प्रशिक्षक वा अरू नै जागिर हुने भयो भनेर मख्ख र ढुक्क पनि त्यतिकै थिएँ । तर, त्यसो भएन । राखेपले नियम परिवर्तन गरेको भन्यो । सागमा स्वर्ण विजेतालाई जागिर दिने नियम नै परिवर्तन गरेको मैले धेरै पछि मात्र थाहा पाएँ । १२औँ सागको स्वर्णपछि राखेपको जागिरे हुने एउटा आशा सपनाजस्तै रह्यो । १३औँ सागपछि पनि जागिर भएन र नेपाल प्रहरीमा जागिर खाएँ ।
आमाबुबाका अघि दोस्रो स्वर्ण जितेँ
१२औँ सागमा मैले स्वर्ण पदक जित्दा मेरो बाबा पसलमै हुनुहुँदो रहेछ । उहाँले पानी बेच्दै गर्दा छोरीले स्वर्ण जितेको थाहा पाउनुभयो रे ! यो कुरा पछि मात्रै मैले थाहा पाएँ । छोरी पहिलोपटक विदेश गएको त्यो पनि स्वर्ण पदक जित्दा बुबा र आमा (पुना घर्तीमगर) निकै खुसी हुनुभएछ । बुबा र आमाले छोरीको खेल पहिलोपटक सन् २०१९ मा भएको १३औँ सागमा हेर्नुभयो । १९ वर्षको उमेरमा मैले देशलाई दोस्रो स्वर्ण पदक जिताउँदा आमा र बुबासँगै एरिनामै हुनुहुन्थ्यो । लगनखेलमा मैले खेल्दा उहाँहरू डराउनुभएछ । कतै छोरीले खेल बिगार्ने हो कि ? पदक नजित्ने हो कि ? भनेर तनाव पनि लिनुभएछ । पदक जितेपछि दादा दीपेन्द्रसँगै सपरिवार एरिनामै खुसीयाली साटेका थियौँ । मैले जितेको पदक पनि आमालाई लगाइदिएकी थिएँ ।
अब, १४औँ साग पाकिस्तानमा हुने भनिएको छ । कहिले हुन्छ, टुंगो छैन । आफू अहिले लयमै छु । केही वर्षभित्रै हुने हो भने फेरि स्वर्ण पदक जित्दै ह्याट्रिक गर्ने योजना छ । त्यसका लागि म तयार छु । पाकिस्तानले मात्र १४औँ साग गर्नुपर्यो । लगातार प्रतियोगिता भएको भए अहिलेसम्म चार–पाँच कीर्तिमानी स्वर्ण पदक जितेकी हुन्थेँ होला ।