प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रुचि नभएको प्रस्ट पारेका छन्।
प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विगतको राजनीतिक घटनाक्रम स्मरण गर्दै आफूलाई नैतिकताको पाठ नसिकाउन सुझाव दिए।
‘नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन मलाई कुनै रुचि थिएन र छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘प्राविधिक तयारीकाे समय आवश्यक हुँदैनथ्यो भने म भोलिपल्टै पनि विश्वासको मतका लागि तयार थिएँ । मैले १० दिनभित्रै विश्वासको मत लिने जानकारी सदनलाई गराएँ ।’
निरन्तर आफ्नो राजीनामा मागिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राजीनामाको नाम दिएर नतर्सिन सुझाव दिए। ‘केही साथीहरू डराइरहनुभयो र राजीनामा मागिरहनुभयो । साथीहरूको आपसी विश्वास कमजोर भएर हो वा षड्यन्त्र आफैँ सधैँ कमजोर हुने भएर हो, तर्सिरहनुभयो,’ उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गर्नुभयो ।’