कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डमा तीन ठाउँमा सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बौदीकाली– १ जरेबर, गैँडाकोट नगरपालिका– ३ हिउँदेखोला र बुलिङटार– २ मतेडाँडामा सडक अवरुद्ध भएको छ ।
बौदीकाली– १ जरेबर र गैँडाकोट– ३ हिउँदेखोलामा माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको र बुलिङटार– २ मतेडाँडामा लेदो बगेको कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र सडक खुल्न कम्तीमा चार–पाँच घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
यता बुटवल–नारायणगढको नवलपुरखण्डमा भने सडक अवरुद्ध नरहेको प्रहरीले जनाएको छ। त्यसैगरी नवलपुरको बौदीकाली– २ गुरौटारनिवासी ५५ वर्षीय सन्तबहादुर विकको कच्ची घर अविरल वर्षाले एक मिटर भासिएको छ । घरमा रहेका सन्तबहादुर र उनकी श्रीमतीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।