सुरक्षा जोखिम देखाउँदै नलिन्चोकबाट हेलिकोप्टर उडान ठप्प

शुक्रबार, २९ असार, २०८१
डिजिटल संस्करण

७ असारदेखि सञ्चालनमा आएको भक्तपुरको नलिन्चोक हेलिपोर्टमा ४७ पाइलटले बिहीबारदेखि उडाउन रोके 

भक्तपुरमा निर्माण गरिएको नलिन्चोक हेलिपोर्ट सञ्चालनमा आएको तीन हप्तामै अलपत्र परेको छ । न्यूनतम सुविधासमेत उपलब्ध नरहेको नलिन्चोक हेलिपोर्ट उडान सुरक्षाका हिसाबले उच्च जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै ४७ पाइलटले बिहीबारदेखि उडान ठप्प पारेका हुन् । बुधबार बसेको पाइलटहरूको बैठकले बिहीबारदेखि नलिन्चोकबाट उडान नगर्ने निर्णय गरेको थियो ।

बिहीबार नलिन्चोक हेलिपोर्टबाट सबै हेलिकोप्टर कम्पनीले कुनै पनि उडान–अवतरण नगरेको एक पाइलटले बताए । हवाई सुरक्षा जोखिम न्यूनीकरणका लागि नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) गम्भीर नदेखिएपछि उडान रोक्नुपरेको उनको भनाइ छ । 

क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट हेलिकोप्टर सेवा स्थानान्तरण गर्न नलिन्चोकमा हेलिपोर्ट निर्माण गरेको हो । तर, उडान सञ्चालन भएको २० दिनमै हेलिपोर्ट अलपत्र परेको छ । ७ असारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नलिन्चोक हेलिपोर्ट उद्घाटन गरेका थिए । टिआइए विस्तार गुरुयोजनाअन्तर्गत नलिन्चोकमा १२ करोड खर्चिर ३३ रोपनीमा हेलिपोर्ट निर्माण गरिएको हो ।

न्यूनतम पूर्वाधारसमेत नरहेको हेलिपोर्टबाट टेकअफ र ल्यान्डिङ गर्न उच्च सुरक्षा जोखिम रहेको पाइलटको निष्कर्ष छ । पाइलटहरूले १६ असारमा विभिन्न समस्या औँल्याउँदै जोखिम न्यूनीकरणका लागि क्यानलाई लिखित पत्र पठाएका थिए । जोखिम पूर्ण रूपमा न्यूनीकरण नहुँदासम्म त्रिभुवन विमानस्थलबाटै उडान सञ्चालन गर्न दिनुपर्ने पनि उनीहरूको माग थियो । नियामक निकाय हवाई सुरक्षाप्रति संवेदनशील नबन्दा उडान रोक्ने निर्णय गर्नुपरेको पाइलटहरूको भनाइ छ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई सुरक्षामा कुनै सम्झौता गर्न नसकिने बताएका छन् । पाइलटले देखाएका समस्या सम्बोधन गर्न अध्ययन समिति गठन गरेको उनको भनाइ छ । ‘हामीले हेलिपोर्टमा टेस्ट फ्लाइट र अन्य रिक्वायरमेन्ट पूरा गरेरै वायुसेवा सञ्चालक संघका प्रतिनिधिसँग ५ असारमा छलफल गरेर हेलिपोर्ट उडानयोग्य भन्ने निष्कर्ष निकाली ७ असारदेखि सञ्चालनमा ल्याएका हौँ,’ उनले भने, ‘पाइलटले विभिन्न कन्सर्न देखाएपछि हामीले गम्भीर रूपमा अध्ययन गर्दै छौँ, हवाई सुरक्षालाई नियमन गर्ने निकायले सेफ्टीसँग जोडिएका कुरा नजरअन्दाज गर्न मिल्दैन र गर्दैन ।’ नलिन्चोकबाट उडान–अवतरण गर्दा कुनै दिन गम्भीर दुर्घटना निम्तिन सक्नेतर्फ पाइलटले क्यानलाई सचेत गराएका छन् । ‘हामीले सुरक्षा जोखिम मोलेर नलिन्चोकबाट उडान–अवतरण गर्न सक्दैनौँ,’ एक पाइलटले भने, ‘आफ्नो (पाइलट) र यात्रुको जीवनलाई धरापमा राखेर सेवा दिनुभन्दा उडान नै बन्द गरेका हौँ ।’ तर, पाइलटले नलिन्चोकबाट उडान नै रोकेको भन्ने विषयमा औपचारिक रूपमा जानकारी प्राप्त नभएको क्यानका सूचना अधिकारी भुलको भनाइ छ ।

दक्षिण–पूर्वमा ट्रान्समिसन लाइनका तार, पूर्व र पश्चिमतर्फ रुख, पश्चिममा टेलिकम टावर, अवतरण मार्गमुनि अग्लो भवन, वरिपरि घरैघरलगायत हुनाले नलिन्चोक हेलिपोर्ट खतरापूर्ण रहेको पाइलटको ठहर छ । हेलिपोर्टमा टेकअफ र ल्यान्डिङ मार्गमा कम्तीमा एक नटिकल माइलभित्र तार, भवन वा अन्य कुनै अवरोध हुन नहुने पाइलटको भनाइ छ । कम्तीमा दुईवटा अप्रोच र ल्यान्डिङ मार्ग हुनुपर्ने पनि पाइलटले बताएका छन् ।

हेलिपोर्टमा हेलिकोप्टरलाई सुरक्षित अवतरण, टेकअफलगायत निर्देशन र निगरानी गर्न कन्ट्रोल टावरसमेत छैन । अहिले त्रिभुवन विमानस्थलकै कन्ट्रोल टावरबाट उडान–अवतरण नियन्त्रण गर्ने बताइएको छ । ट्राफिक निगरानी र व्यवस्थापन गर्न एयर ट्राफिक कन्ट्रोल (एटिसी) टावर बनाउनुपर्ने माग छ ।

अहिले टेकअफ र ल्यान्डिङ विन्दु धेरै नजिक रहेको औँल्याउँदै टेकअफ र ल्यान्डिङ मार्गमा फाइनल अप्रोच टेकअफ क्षेत्र कम्तीमा ७० देखि सय मिटर अवरोधरहित हुनुपर्ने माग छ । हेलिकोप्टर पार्किङ क्षेत्र धेरै सानो रहेको हुँदा विस्तार गर्नुपर्ने पाइलटको माग छ । हेलिपोर्टमा इन्धन भर्ने कुनै सुविधा छैन । अहिले जर्किनमा हवाई इन्धन बोकेर नलिन्चोक हेलिपोर्टमा लैजानुपरेको पाइलटको भनाइ छ । पाइलटले हेलिपोर्टमै इन्धन भर्ने सुविधा उपलब्ध गराउन माग गरेका छन् । हेलिपोर्टमा आपत्कालीन सेवा अग्नि नियन्त्रण, एम्बुलेन्सजस्ता सुविधा छैनन् । ‘हेलिपोर्टमा न्यूनतम सुविधासमेत छैन, आगो लागिहाले निभाउने व्यवस्थासमेत छैन,’ एक पाइलटले भने, ‘त्यस्तो ठाउँबाट कसरी जोखिम मोलेर उडान गर्न सकिन्छ ।’ अग्नि नियन्त्रण स्टेसन र एम्बुलेन्स हेलिप्याडमा राख्नुपर्ने पाइलटको माग छ । हेलिपोर्ट सुरक्षित रूपमा सञ्चलनका लागि उडान–अवतरण र पार्किङका लागि पर्याप्त ठाउँ छुट्याउनुपर्ने देखिन्छ । ‘त्यति सानो हेलिपोर्टमा १३ वटा हेलिकोप्टर एकसाथ पार्किङ गर्न र एकैपटक चारवटा हेलिकोप्टर उडान–अवतरण गर्न मिल्ने भनिएको छ,’ ती पाइलटले भने, ‘यसरी उडान–अवतरण र पार्किङ गर्दा कुनै न कुनै दिन ठूलो जोखिम निम्तने पक्कापक्की छ ।’ उनले भने, ‘यसै त नेपालको उड्डयन क्षेत्र असुरक्षित रहेको भन्दै आइकाओ र इयूले गम्भीर सुरक्षा चासो देखाउँदै आइरहेको छ, आगो निभाउने व्यवस्थासमेत नभएको र वरिपरि जोखिमै–जोखिम रहेको हेलिपोर्ट आइकाओको टिमले अनुगमन र निरीक्षण गरेमा नियामक निकाय फेरि फस्ने सम्भावना रहन्छ ।’ उडान गर्ने सबै पाइलटले हेलिपोर्ट ‘अनसेफ’ छ, उडान गर्न गाह्रो भयो भनेर गुनासो गर्दागर्दै जबर्जस्ती उडाउन दबाब दिएमा क्यानको गैरजिम्मेवार र लापरबाही ठहरिने पाइलटको जिकिर छ । 

उल्लिखित सुरक्षा जोखिम न्यूनीकरण नगरेसम्म हेलिपोर्ट सुरक्षित सञ्चालन सम्भव नरहेको पाइलटको निष्कर्ष छ । तर, सुरक्षा जोखिम न्यूनीकरणमा क्यानले चासो नदेखाएको पाइलटले गुनासो गरेका छन् । ‘जोखिम कम गरेर उडान सुरक्षाको पूर्ण प्रत्याभूति नगर्दासम्म नलिन्चोकबाट एउटै उडान हुँदैन,’ ती पाइलटले भने, ‘३३ रोपनी क्षेत्रफलमा बनेको सानो हेलिपोर्टबाट अहिले तोकेजति उडान–अवतरण र पार्किङ पनि सम्भव छैन ।’ क्यानले आफ्ना माग र सुझाव सम्बोधन नगरेसम्म नलिन्चोकबाट उडान नगर्ने पाइलटले बताएका छन् ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्– पाइलटले १६ असारमा क्यानमा दर्ता गरेको निवेदनमा विभिन्न सुरक्षा चासो देखाइएको छ । क्यानले हवाई सुरक्षमा कुनै सम्झौता गर्दैन । हवाई सुरक्षासँग जोडिएका विषय पाइलट वा इन्जिनियर जसले उठाए पनि क्यानले उचित सम्बोधन गर्छ । नियामक निकायले हवाई सुरक्षामा सम्झौता गर्ने त परै जाओस्, सोच्न पनि सक्दैन । पाइटले सुरक्षा चासो व्यक्त गरिसकेपछि विस्तृत अध्ययन गरेर ‘के गर्न सकिन्छ, के गर्न सकिँदैन’ सिफारिस गर्न कमिटी नै गठन गरेका छौँ ।

समस्या सुल्झाउन क्यानले बनायो कमिटी
पाइलटले सुरक्षा जोखिमका कारण नलिन्चोक हेलिपोर्टबाट उडान गर्न नसक्ने निर्णय गरेपछि समस्या सुल्झाउन क्यानले कमिटी गठन गरेको छ । क्यानले बुधबार हेलिपोर्ट सञ्चालनमा देखिएका समस्या समाधान गर्न भन्दै उपनिर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा १२ सदस्यीय कमिटी गठन गरेको हो । ‘नलिन्चोक हेलिपोर्टमा सुरक्षित उडानका लागि के गर्न सकिन्छ ? अध्ययन गरेर महानिर्देशकलाई सिफारिस गर्न कमिटी गठन भइसकेको छ, जहाँ क्यानका प्रतिनिधि, पाइलटलगायत हुनुहुन्छ ।’ 

क्यानका सूचना अधिकारी भुलले भने, ‘कमिटीलाई प्रतिवेदन बुझाउन सात दिनको समय दिइएको छ, कमिटीले बिहीबारदेखि काम पनि सुरु गरेको छ ।’ कमिटीले पाइलटसँग पनि विस्तृत छलफल गर्ने बताइएको छ । ‘सुरक्षामा सम्झौता नगरी भएको संरचना कसरी प्रयोग गर्न सकिन्छ भनेर कमिटीले विस्तृत अध्ययन गर्नुका साथै पाइलटलगायत सम्बन्धित पक्षसँग छलफल गरेर सिफारिस गर्नेछ,’ उनले थपे, ‘हवाई सुरक्षामा हामी कुनै सम्झौता गर्दैनौँ । सेफ्टीमा सम्झौता गर्ने कुरा क्यानले सोच्न पनि सक्दैन ।’ सेफ्टीसँग जोडिएका कतिपय विषय क्यानबाट समाधान होलान् । रि–फ्युलिङ, अग्नि नियन्त्रण, रुख, टहरा, तार, टावरलगायत हटाउने विषयमा सम्बन्धित निकायसँग कुरा भइरहेको छ । 

सुझावित समाचार