कास्कीका तीन स्थानमा गएको पहिरोमा परी एकै परिवारका ६ जनासहित ११ जनाको मृत्यु भएको छ । यसैगरी चारजना घाइते भएका छन् । पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।
उद्धार गर्न आएकी एक छिमेकीसहित सातजनाको मृत्यु, दुई घाइते
बिहीबार राति आएको पहिरोमा परेर पोखरा महानगरपालिका– १९ तल्लाकोट टारी बस्ने कुलबहादुर परियारको घर पछाडिबाट आएको पहिरोले पुर्दा उनीसँगै परिवारका ६ जना र उद्धार गर्न आएकी एक छिमेकीसहित सातजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा ४६ वर्षीय कुलबहादुर, श्रीमती ४३ वर्षीया मनकुमारी परियार, ८५ वर्षकी आमा लक्षिमा परियार, छोरी वर्ष १५ की प्रशना परियार, चितवन घर भई माइत आएकी छोरी वर्ष २० की प्रभा परियार र ससुराली आएका ज्वाइँ प्रभाका श्रीमान् वर्ष २५ का अस्मित परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि उद्धार गर्न पुगेकी छिमेकी वर्ष ५६ की राधिका परियारको लडेर मृत्यु भएको प्रहरीको भनाइ छ । पहिरोमा परी कुलबहादुरका छिमेकी तल्लाकोट टारी बस्ने वर्ष ३१ का कुमार परियार घाइते भएका छन् । पहिरोपछि उद्धारमा गएका उनको बायाँ हातमा चोट लागेको छ । उपचारपछि उनी डिस्चार्ज भएका छन् । कुमार मृतक राधिका परियारका छोरा हुन् ।
यसैगरी कुलबहादुरका छोरा वर्ष १७ का पवन परियारसमेत घाइते भएका छन् । उनको ढाडमा चोट लागेकोमा अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।
एकै परिवारका तीनको मृत्यु
लगातारको वर्षाको कारण शुक्रबार बिहान ०२ः१५ बजेको समयमा पोखरा– ३२ चैनपुरस्थित बाह्रबिसेमा स्थानीय वर्ष ४० की आरती ओझाको घर पहिरोले पुर्दा आरतीका दुई छोरी र भतिजा एक गरी तीनजनाको मृत्यु भएको छ ।
पहिरोमा परेर आरतीकी छोरी वर्ष १८ की अनिता ओझा र वर्ष ११ की अनुष्का ओझासँगै दाइको छोरा वर्ष नाैको प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परेर आरती घाइते भएकी छिन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको छ ।
मादी गाउँपालिका– ११ मा एककाे मृत्यु
यसैगरी कास्कीको मादी गाउँपालिका– ११ तल्लो ताप्लेमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वर्ष ८० की माइतीकुमारी गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।
घरमा सँगै रहेका उनका छोरा वर्ष ५५ का ओमबहादुर गुरुङलाई प्रहरी र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बल, नेपाली सेनाको टोलीसँगै स्थानीयको सहयोगमा खोज तथा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।