प्रहरी अस्पतालमा बदमासी : बजेट नै सुनिश्चित नगरी ठेक्का, हेडक्वार्टरले थाल्यो एआइजीमाथि छानबिन

शुक्रबार, २८ असार, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरी अस्पतालले बजेटको सुनिश्चितता नै नगरी खरिद प्रक्रिया अघि बढाएको खुलेपछि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ । अस्पतालले डिजिटल एक्सरे मेसिन खरिद प्रक्रिया अघि बढाएकोमा आपूर्तिकर्ताले सामान बुझाइसकेपछि समयसीमाभित्र सामान दिन नसकेको बहाना गरेर गत २३ असारमा ठेक्का रद्द गरेपछि कार्यालयले छानबिन थालेको हो ।

बजेट नै सुनिश्चित नगरी ठेक्का प्रक्रिया अघि बढाएको र दुई थान एक्सरे मेसिन जडान भइसकेपछि सम्झौता रद्द गरेको खुलेको छ । प्रहरी केन्द्रीय अस्पतालले तीन डिजिटल एक्सरे मेसिन खरिदका लागि मेडिइक्युप्स नेपाल प्रालिसँग गत १९ माघमा तीन करोड १३ लाख रुपैयाँमा सम्झौता गरेको थियो । सम्झौताअनुसार गत १२ वैशाखमा सुनसरीको इनरुवा तथा २३ वैशाखमा धनगढीस्थित प्रहरी अस्पतालमा एक्सरे मेसिन जडान भइसकेको छ । महाराजगन्जस्थित केन्द्रीय अस्पतालमा पनि मेसिन आपूर्ति भइसकेको, तर एक्सरे ट्युब बुझाउने क्रममा अस्पतालले नबुझी ठेक्का नै रद्द गरेको हो । 

यसमा अस्पताल प्रमुख एआइजी डा. आशा सिंहको गम्भीर त्रुटि देखिएको छ । प्रहरी कल्याण कोषमार्फत प्रहरी अस्पतालले एक्सरे मेसिन खरिद प्रक्रिया अघि बढाएको थियो । तर, खरिदका लागि छुट्याइएको बजेट कोषको मूलधनका रूपमा राखिएको थियो । मूलधनमा राखिएको पैसा खर्च गर्न नमिल्ने कल्याण कोषको नियमावलीमा छ । एआइजी सिंहले भने मूलधनबाटै भुक्तानी दिने योजनासाथ ठेक्का प्रक्रिया अघि बढाएकी थिइन् । तर, पछि भुक्तानी दिन नसक्ने भएपछि आपूर्तिकर्तामाथि अन्याय गरेकी छिन् । यसमा एआइजी सिंहमाथि कारबाही हुने देखिएपछि उनले सामान आपूर्ति भइसकेपछि सम्झौता रद्द गरेको अस्पताल स्रोत बताउँछ । दुई अस्पतालमा एक्सरे जडान भएर सञ्चालनसमेत भइरहेको अवस्थामा समयभित्र सामान आपूर्ति गर्न नसकेको भनेर सम्झौता रद्द गरिएको छ । भुक्तानी दिन समस्या हुने थाहा पाएपछि अस्पतालले ठेकेदारलाई झुटा आरोप लगाएर सम्झौता रद्द गरेको स्रोत बताउँछ । 

उक्त ठेक्काको विषयमा उजुरी परेको र छानबिन अघि बढाइएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले बताए । ‘ठेक्कामा केही कैफियत देखिएपछि छानबिन गर्न लागेका हौँ,’ उनले भने । 

प्रहरीबाटै आफूमाथि अन्याय भएको भन्दै मेडिइक्युप्स नेपाल प्रालिका सञ्चालक केशव पाण्डे न्याय माग्दै प्रहरी प्रधान कार्यालय पुगेका छन् । दुई अस्पतालमा जडान भइसकेको र केन्द्रीय अस्पतालमा सामान बुझिदिन पटक–पटक आग्रह गर्दा पनि अस्पतालले नमानेको र अन्तिममा गैरकानुनी रूपमा सम्झौता रद्द गरेको भन्दै उनले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसमक्ष उजुरी गरेका छन् । आफ्नो सामान कैफियत भए जिम्मेवारी लिने भन्दै उनले छानबिनका लागि आग्रह गरेका छन् ।  प्रारम्भिक छानबिनमा प्रहरी अस्पतालको कमजोरी देखिएपछि प्रहरी प्रधान कार्यालयको प्रशासन विभागले छानबिन समिति बनाएर यस विवादमा अध्ययन गर्न लागेको हो । 
 

सुझावित समाचार