नेदरल्यान्ड्सलाई २–१ ले पन्छाउँदै इंग्ल्यान्ड लगातार दोस्रोपटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
इंग्लिस टिमले युरो–२०२० मा पनि फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, उपाधि भिडन्तमा इटालीसँग पेनाल्टी सुटआउटमा निराश बन्दा इंग्ल्यान्ड उपविजेतामै चित्त बुझाउन बाध्य भएको थियो।
सन् १९६८ देखि युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै आएको इंग्ल्यान्डले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन।
यसपटक इतिहास रच्ने मौका सिर्जना गरेको इंग्ल्यान्डले खेलमा अग्रता लिएको डच टिमलाई निर्धारित समयको अन्तिम समयमा माथ दिएको हो।
डच टिमले सेमिफाइनलमा अग्रता लिए पनि त्यसलाई जोगाउन त सकेन नै अन्तिम समयमा सम्हालिन नसक्दा नेदरल्यान्ड्स पुनः अभागी टिम साबित हुन पुग्यो। निर्धारित समयको अन्तिम मिनेटमा वाट्किन्सले गोल गर्दै इंग्ल्यान्डलाई २–१ जित सुनिश्चित गरे।
जर्मनीको डर्टमन्डमा भएको खेलको सातौँ मिनेटमा वाभी सिमोन्सले आकर्षक गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए। तर, ११ मिनेटपछि १८औँ मिनेटमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीमार्फत खेललाई बराबरीमा फर्काए।
नेदरल्यान्ड्सका डेन्जेल डम्फ्रिजले केनमाथि नै फाउल गरेका थिए। इंग्ल्यान्डले भिडियो असिस्टेन्ट रेफ्री (भार)को सहयोगमा पेनाल्टीको अवसर प्राप्त गरेको थियो।
खेल अवधिभर इंग्ल्यान्डले पाँच तथा नेदरल्यान्ड्सले दुई ‘अन टार्गेट’ राखेका थिए। दोस्रो हाफमा इंग्ल्यान्डले गरेको त्यही एक अन टार्गेट प्रहार गोलमा परिणत भएको थियो।
अब उपाधिका लागि इंग्ल्यान्डले स्पेनको सामना गर्नेछ। पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–१ गोलले हराउँदै स्पेन फाइनलमा पुगिसकेको छ।