सधैँभरि सरकार परिवर्तन र मन्त्री हेरफेरमा रुमलिनु परेपछि प्रदेश सरकारहरूको खर्चसमेत प्रभावित भएको छ । चालू आर्थिक वर्ष ०८०/८१ मा प्रदेशहरूको औसत खर्च ६५.९६ प्रतिशत रहेको छ । त्यस्तै, पुँजीगततर्फको औसत खर्च ६७.८३ प्रतिशत र चालूतर्फको औसत खर्च ६४.९९ रहेको छ ।
राम रानामगर, आर्थिक मामिला तथा योजनामन्त्री, कोशी : प्रदेशमा राजनीतिक अस्थिरताले गर्दा लक्ष्यअनुसारको बजेट खर्च हुन नसकेको हो । राजनीतिक अस्थिरताबीच पनि ७७ प्रतिशत बजेट खर्च हुनु धेरै नकारात्मक होइन ।
कोशी प्रदेशले चालू आर्थिक वर्ष ०८०/८१ मा २८ मा अर्ब ३६ करोड ४४ लाख रुपैयाँ खर्च गरेको छ । जुन विनियोजित बजेटको ७७ प्रतिशत हो । कोशी प्रदेश कोष तथा नियन्त्रण कार्यालयका अनुसार खर्च भएको बजेटमध्ये पुँजीतर्फ ७८ प्रतिशत अर्थात् १६ अर्ब ३६ करोड ४६ हजार र चालूतर्फ ७५ प्रतिशत अर्थात् १२ अर्ब ७२ लाख ३१ हजार रहेको छ ।
कोशी प्रदेशमा राजनीतिक अस्थिरताले गर्दा लक्ष्यअनुसारको बजेट खर्च हुन नसकेको आर्थिक मामिला तथा योजनामन्त्री रामराना मगर बताउँछन् । उनले राजनीतिक अस्थिरताबीच पनि ७७ प्रतिशत बजेट खर्च हुनु धेरै नकारात्मक नभएको बताए ।
मधेश प्रदेशले कुल बजेटको ५५.७५ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । चालू आर्थिक वर्षमा मधेशले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँबराबरको बजेट ल्याएको थियो । २४ असारको मध्यरातिसम्म २४ अर्ब ५९ करोड ४५ लाख ६५ हजार रुपैयाँ मात्र खर्च भएको मधेश प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालूतर्फ ५०.१४ प्रतिशत अर्थात ९ अर्ब २९ करोड ७० लाख २ हजार रुपैयाँ खर्च भएको छ । चालू आवका लागि चालूतर्फ १८ अर्ब ५३ करोड ८८ लाख ५८ हजार बजेट विनियोजन भएको थियो । त्यसैगरी, पुँजीगततर्फ २५ अर्ब ५७ करोड ५७ लाख ७४ हजार बजेट रहेकोमा १५ अर्ब २९ करोड ७५ लाख ६३ हजार रुपैयाँ अर्थात् ५९.८१ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।
बागमती प्रदेशले ७२.३८ प्रतिशत खर्च गर्न सकेको छ । प्रदेशका १३ मन्त्रालय र मातहतका निकायहरूले चालू आवका लागि विनियोजन गरेको कुल ६० अर्ब रुपैयाँ बजेट मध्ये ४५ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेका हुन् ।
प्रदेश लेखा नियन्त्रक कार्यालय बागमती प्रदेश हेटौँडाका अनुसार प्रदेश सरकारले चालू खर्चतर्फ १७ अर्ब १२ करोड रुपैयाँ बजेट खर्च गरेका छन् । जुन कुल विनियोजित बजेटको ६५ प्रतिशत रकम हो । यस्तै, पुँजीगततर्फ २८ अर्ब ५४ करोड रुपैयाँ अर्थात् कुल विनियोजित बजेटको ७९ प्रतिशत रकम खर्च गरेको प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले वित्तीय व्यवस्थानका लागि विनियोजन गरेको ५० करोड रुपैयाँ भने खर्च हुन सकेन ।
प्रदेश सरकारको खर्च प्रणाली बन्द हुने दिन असार २४ गते मात्रै दुई अर्बभन्दा बढी रकम खर्च भएको कार्यालयले जनाएको छ । भुक्तानी प्रणाली बन्द हुनुअघि प्रदेश सरकारले वर्षभरि गरेका आर्थिक क्रियाकलापको रकम भुक्तान गर्दा एकैदिन दुई अर्ब रुपैयाँभन्दा बढी रकम खर्च भएको प्रमुख उपाध्यायले बताए ।
गण्डकी प्रदेशले कुल ६६.५८ प्रतिशत मात्र बजेट खर्च गरेको छ । चालू आवका लागि गण्डकीले पुँजीगततर्फ २० अर्ब २१ करोड ७५ लाख १० हजार र चालूतर्फ १२ अर्ब ७० करोड ९६ लाख ९० हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड गरी कुल ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको थियो ।
प्रदेशको कुल बजेटमध्ये चालू आवको २५ असारसम्म २२ अर्ब २५ करोड ७४ लाख ९६ हजार अर्थात् ६६.५८ प्रतिशत बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय गण्डकीका सूचना अधिकारी सुदीप गौतमले जानकारी दिए । खर्चमध्ये पुँजीगततर्फ विनियोजित बजेटको ७२.३७ प्रतिशत अर्थात् १४ अर्ब ६३ करोड १७ लाख ५५ हजार २९३ रुपैयाँ र चालूतर्फको ६० प्रतिशत अर्थात् सात अर्ब ६२ करोड ५७ लाख ४१ हजार ९८ रुपैयाँ खर्च भएको छ ।
लुम्बिनी प्रदेशले चालू आर्थिक वर्षमा ६६ दशमलव १४ प्रतिशत बजेट खर्च गरेको छ । लुम्बिनीले चालू आवका लागि ४० अर्ब ४७ करोड ९७ लाखको बजेट ल्याएको थियो । २४ असारसम्ममा २६ अर्ब ७७ करोड ३५ लाख ११ हजार खर्च भएको हो ।
लुम्बिनीले चालूतर्फ स्थानीय तहमा हस्तान्तरणसहित १० अर्ब ७४ करोड २७ लाख ९३ हजार रुपैयाँ खर्च भएकोे छ । जुन चालूतर्फ विनियोजित बजेटको ६२.५९ प्रतिशत हुन आउँछ । प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा नियन्त्रक लक्ष्मण पौडेलका अनुसार लुम्बिनी प्रदेशमा पुँजीगततर्फ ६८ दशमलव ९३ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजारको बजेट रहेकोमा १६ अर्ब ३ करोड ७ लाख १७ हजार रुपैयाँ खर्च भएको हो ।
राजस्व संकलन अपेक्षित गर्न नसक्नु र संघीय सरकारबाट समानीकरण अनुदानको रकम २ अर्ब १० करोड ९५ लाख कम आएपछि प्रदेश सरकार रकम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको हो । प्रदेश सञ्चित कोषमा मंगलबारसम्म करिब ३० करोड रुपैयाँ मात्रै छ । असार मसान्तसम्ममा केही रकम थप हुने भए पनि अब भुक्तानी हुन बाँकी रकम आगामी आर्थिक वर्षमा हुनेछ । स्थानीय तहमा गएको रकम खर्च नभएर फर्किने र राजस्वबाट संकलन हुने केही रकम असार मसान्तसम्ममा थप हुनेछ ।
कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालू खर्चतर्फ ९ अर्ब ४५ करोड ८३ लाख २६ हजार रुपैयाँ बजेट खर्च गरेका छन् । जुन कुल विनियोजित १३ अर्ब ८३ करोड ६२ लाख ६५ हजारको ६८.३६ प्रतिशतहो । यस्तै, पुँजीगततर्फ १० अर्ब ६९ करोड ५६ लाख ४६ हजार रुपैयाँ अर्थात् कुल विनियोजित बजेटको ५४.६७ प्रतिशत रकम खर्च गरेको कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका कायममुकायम प्रदेश लेखा नियन्त्रक दीपेन्द्र मगरातीले जानकारी दिए ।
गएको आर्थिक वर्षको तुलनामा यसवर्ष कुल खर्च अझ घटेको हो । गत आव ०७९/८० मा ६७.५३ प्रतिशत खर्च भएको थियो । १५ लाखमुनिका योजना कार्यान्वयन नुहनु, कर्णाली समृद्धि आयोजना कार्यान्वयनमा नआउनु, सांसद विकास क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अदालतमा मुद्दा पर्नुलगायतले कम खर्च भएको हुन सक्ने कायममुकायम प्रदेश लेखा नियन्त्रक मगरातीले बताए ।
सुदूरपश्चिम प्रदेशले चालू आर्थिक वर्षमा कुल बजेटको ६३.५९ प्रतिशत खर्च गरेको छ । चालू आर्थिक वर्षका लागि विनियोजित २९ अर्ब २८ करोड ३३ लाखमध्ये १८ अर्ब ६२ करोड २५ लाख रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीले जनाएको छ ।
पुँजीगततर्फ विनियोजन गरिएको १७ अर्ब २५ करोडमध्ये १० अर्ब ५७ करोड खर्च भएको छ । त्यस्तै, चालूतर्फ विनियोजित ११ अर्ब ९६ करोडमध्ये ८ अर्ब ५१ करोड खर्च प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले जानकारी दिए ।
विराटनगरमा गणेश लम्साल, जनकपुरमा हदिश खुद्दार, बागमतीमा पोष्टराज अधिकारी, कास्कीमा रोहितराज पराजुली, बुटवलमा विष्णु घिमिरे र धनगढीमा तेजराज भट्ट