आगामी मौद्रिक नीतिमार्फत इन्जिन गाडीमा ७५% सम्म कर्जा सुविधाको व्यवस्था गर्न नाडाको माग
आर्थिक सुस्तताका कारण समग्र अटामोबाइल बजारमा ६८ प्रतिशतको गिरावट आएको नाडा अटोमोबाइल एसोसिएसनले जनाएको छ । मन्दीमा फसेको अटोमोबाइल सेक्टर तंग्रिने गरी नीति नल्याउँदा सम्पूर्ण व्यवसाय नै धरापमा परेको नाडाको विश्लेषण छ ।
नाडाले बुधबार अटोमोबाइल व्यवसायलाई गतिशील बनाउने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सातबुँदे सुझाव दिएको छ । नाडाका अध्यक्ष करण चौधरीले यतिवेला नेपालमा अटोमोबाइलमैत्री मौद्रिक नीतिको टड्कारो आवश्यकता रहेको बताए । आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति बनाइरहेको राष्ट्र बैंकलाई नाडाले यस्तो सुझाव दिएको हो ।
मन्दीका कारण सबैभन्दा धेरै पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको बिक्री प्रभावित भएको नाडाको ठहर छ । बैंक तथा वित्तीय संस्थाले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनलाई प्रवाह गर्ने कर्जा ५० प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्याउने व्यवस्था गर्न नाडाले माग गरेको छ । विद्युतीय सवारीसाधनमा भने अहिले नै ८० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था रहेको छ । नाडाको सुझावपत्रमा भनिएको छ– ‘विद्युतीय सवारीसाधनमा नीतिगतस्तरमा भएको लचकता सराहनीय छ, तर अटोमोबाइल क्षेत्रले विद्युतीय सवारीसाधन मात्र नभई समग्र अटो व्यवसायलाई समेट्छ, तसर्थ सबै व्यवसायलाई हित हुने नीतिको आवश्यकता छ ।’
आगामी मौद्रिक नीतिले पनि अटो क्षेत्रमा सुधार नल्याए स्थिति अझै भयावह हुने नाडाको ठम्याइ छ । नाडाले पेट्रोल, डिजेल र विद्युतीय शक्तिबाट चल्ने निजी प्रयोजन र व्यावसायिक महत्वका सवारीसाधनलाई स्पष्ट रूपमा छुट्याई सोहीअनुरूप बैंक लगानी गर्न सहजीकरण गरिदिनुपर्ने माग गरेको छ । यस्तै, चालू पुँजी कर्जा मार्गदर्शन २०७९ ले अझै पनि व्यवसायीलाई समस्यामा पारिरहेको नाडाले जनाएको छ ।