डेडिकेटेड ट्रंकलाइन महसुल विवाद : तीन उद्योगको लाइन काटियो

टिओडीका आधारमा मात्रै महसुल तिर्ने उद्योगीको अडान

बुधबार, २६ असार, २०८१
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटड फिडर र ट्रंकलाइनको बक्यौता नतिर्ने तीन उद्योगको लाइन काटेको छ । रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टमा प्राधिकरणले मंगलबार राति सवा नौ बजेदेखि लाइन काटेको हो । 

प्राधिकरणले डेडिकेटड फिडर र ट्रंकलाइनको बक्यौता तिर्न ६१ उद्योगलाई मंगलबारसम्मको म्याद दिएको थियो । गत असार १० गते पत्र पठाउँदै १५ दिनभित्र बक्यौता तिर्न भनेको थियो, जुन म्याद मंगलबार सकिएको छ । तर, त्यस अवधिमा कुनै पनि उद्योगले पैसा तिरेको छैन । त्यसपछि पहिलो चरणमा तीन उद्योगको लाइन काटिएको प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

६१ उद्योगको ६ अर्ब ६० करोड ७८ लाख बक्यौता देखिएको छ । त्यसमा २५ प्रतिशत जरिवाना थपिँदा उद्योगहरूबाट आठ अर्ब २५ करोड ९७ लाख उठाउनुपर्ने देखिन्छ । त्यसमा रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३७ लाख, घोराही सिमेन्टको ५१ करोड र अर्घाखाँची सिमेन्टको ४४ करोड ८६ लाख बक्यौता छ । अन्य उद्योगहरूको तुलनामा यी उद्योगको बक्यौता धेरै भएको प्राधिकरणको भनाइ छ । 

तर, उद्योगीहरूले टाइम अफ डे (टिओडी) मिटरको तथ्यांकका आधारमा मात्रै डेडिकेटेड फिडर र ट्रंकलाइनबापतका अतिरिक्त (प्रिमियम) महसुल तिर्ने अडान कायमै राखेका छन् । मंगलबार उद्योगीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत् प्राधिकरणबाट टिओडी मिटरको तथ्यांक प्राप्त नभएसम्म बक्यौता नतिर्ने बताएका हुन् ।

प्राधिकरणले १० असारमा उद्योगीलाई बक्यौता तिर्न दिएको म्याद मंगलबार सकिएको छ । माघ ०७२ देखि वैशाख ०७५ सम्मको बक्यौता तिर्न भन्दै प्राधिकरणले उद्योगीलाई पत्र पठाएको थियो ।   

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले टिओडी मिटरको तथ्यांक चाहिने बताए । ‘व्यवसायीको सुझावअनुसार न्यायिक आयोग बन्यो । आयोगको प्रतिवेदनबाट पनि हामी आशावादी थियौँ । तर, प्रतिवेदनभन्दा फरक ढंगले उद्योगीलाई चिठी आयो । राज्यप्रति विश्वास गर्ने आधार भएन,’ उनले भने, ‘आयोगले जे सुझाव दिएको छ, त्योअनुसार बक्यौता असुल हुनुपर्छ । त्यसमा केही बाधा–अड्चन भयो भने महासंघ प्राधिकरण, ऊर्जा मन्त्रालय र सरकारसँग आवश्यक छलफल गरेर समन्वयनकारी भूमिका खेल्न तयार छ ।’

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले पनि आयोगको निर्णय अक्षरशः पालना हुनुपर्ने बताए । ‘आयोगको प्रतिवेदन आउँदा हामी आशावादी थियौँ । तर, अहिले फरक ढंगले पत्र आयो । त्यसमाथि अहिले अर्थतन्त्र शिथिल अवस्थामा छ । त्यो अवस्थामा उद्योगीलाई झन् पेल्ने काम भयो,’ उनले भने, ‘उद्योगीहरू प्रमाणका आधारमा पैसा तिर्न तयार छन् । त्यसमा उनीहरूले प्रमाण माग्नु जायज छ । तसर्थ, प्राधिकरणले प्रमाण दिनुपर्छ ।’

व्यवसायी साहिल अग्रवालले टिओडी मिटरको तथ्यांक अनिवार्य चाहिने बताए । उद्योगी ध्रुव थापाले प्राधिकरणसँग तथ्यांक नभए उद्योगीहरू नै दिन तयार रहेको बताए । व्यवसायी पशुपति मुरारकाले पाँच महिना चार दिनको मात्रै बक्यौता तिरे पुग्ने बताए । त्यसमा पनि तथ्यांक अनिवार्य हुनुपर्ने उनको भनाइ छ । ‘माघ ०७२ देखि वैशाख ०७५ सम्मको अवधिको शुल्क उठाउने भनिएको छ । यसमा डेडिकेटेड फिडरमा २४ घण्टा नै विद्युत् आपूर्ति हुनुपर्ने सर्त छ । ट्रंकलाइनमा भने न्यूनतम लोडसेडिङ भएका वेला न्यूनतम ६ घण्टा विद्युत् आपूर्ति हुनुपर्ने भनिएको छ,’ उनले भने । 

सुझावित समाचार