कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई तीन प्रश्न

बुधबार, २६ असार, २०८१
डिजिटल संस्करण

मधेशमा सरकारलाई विश्वासको मत दिइसकेपछि पनि किन किचलो भइरहेको छ ?
यो त्यस्तो ठूलो समस्या होइन । पदका लागि भइरहेको सामान्य खिचातानी हो । पहिले एउटा सहमति गरियो । अहिले सोही सहमति नमान्ने प्रयास भइरहेको छ । पहिले एउटा कुरा र अहिले अर्को कुरा भएकाले केही समय अलमल भएको हो । ठुलै विवाद भएको होइन । सबै पक्ष पहिले गरिएको सहमतिअनुसार अघि बढ्न तयार हुनासाथ तत्काल समस्या समाधान हुन्छ ।  

संघमा राष्ट्रिय सरकार गठन गर्ने भनिँदै गरेको समयमा मधेशमा चाहिँ किन सकस भएको हो ?
संघमै पनि राष्ट्रिय सहमतिको सरकार भने पनि सबै दल आउँदैनन् । संसद्मा रहेका सबै दल सरकारमा सामेल पनि हुँदैनन् र सबै एउटै सरकारमा अटाउँदा पनि अटाउँदैनन् । केन्द्रमा सरकार गठन गर्ने बृहत्तर विधि हुन्छ । त्यसैलाई पालना गरेर सरकार बनाइन्छ । तर, संघमा एउटा विधिले काम ग¥यो भन्दैमा प्रदेशमा पनि सोही फर्मुला लागु हुन्छ भन्ने छैन । केन्द्रमा जोडिने दलहरू प्रदेशमा पनि जोडिन्छन् र अहिलेको विवाद पनि छिटै टुंगिन्छ । 

खटपट भइरहेमा मधेशमा सरकारको नेतृत्व फेर्नेसम्मको तयारी भइरहेको छ भन्ने सुनिन्छ नि ?
अहिले त्यस्तो कुनै सम्भावना छैन । भर्खर त सरकारलाई विश्वासको मत दिएका छौँ । एक खालको समझदारीपछि नै विश्वासको मत दिइएको हुनाले सो समझदारी पक्कै लागू होला । अहिले नै यो र त्यो विकल्प भन्दै खोज्ने वेला भएको छैन । समझदारी कार्यान्वयन हुनै सकेन भने मात्र बल्ल विकल्प खोज्ने हो । 

सुझावित समाचार