बागमतीका मुख्यमन्त्रीलाई राजीनामा दिन र दूरगामी महत्त्व राख्ने निर्णय नगर्न एमालेको आग्रह

मंगलबार, २५ असार, २०८१
डिजिटल संस्करण

एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिएर नयाँ सरकार गठनमा सहयोग गर्न आग्रह गरेको छ। सरकार अल्पमतमा परिसकेकाले दूरगामी महत्त्व राख्ने निर्णयहरू नगर्न पनि एमालेले बागमती प्रदेश सरकारलाई सचेत गराएको छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले माओवादी केन्द्र नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परिसकेकाले मुख्यमन्त्रीलाई यथाशीघ्र राजीनामा दिन आग्रह गरेका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै नेता थपलियाले मुख्यमन्त्री जम्कट्टेललाई सहमतीय सरकार निर्माण गर्ने अभियानलाई साथ दिन पनि अनुरोध गरेका छन्। विज्ञप्तिमा देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले एमालेले लिइरहेको पहलकदमीलाई आत्मसात् गर्दै बागमती प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्न सहमतीय सरकार निर्माणको वातावरण बनाउन क्रियाशील रहेको उल्लेख गरिएको छ।

राष्ट्रिय सहमतिको सरकार गठनका लागि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको उल्लेख गर्दै मुख्यमन्त्रीले पनि यथाशीघ्र राजीनामा दिएर मार्गप्रशस्त गर्न उपयुक्त हुने धारणा एमालेको छ।

सुझावित समाचार