सल्यानका तीन ठाउँमा पहिरो जाँदा दुईवटा राजमार्ग अवरुद्ध भएका छन् । राप्ती राजमार्गमा दुई स्थान र दाङ–सुर्खेत सडकखण्डको एक स्थानमा पहिरो जाँदा दुई राजमार्ग अवरुद्ध भएका छन् ।
राप्ती राजमार्गअन्तर्गत दाङ र सल्यानको सिमाना कपुरकोट गाउँपालिका– ३ चोरखोलानजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ। पानी परिरहेकाले पहिरो हटाउँदा पनि पहिरो झर्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार हिजोदेखि कपुरकोट क्षेत्रमा पहिरो गइरहेको र पहिरो हटाउँदै सडक सञ्चालन गर्ने क्रम चलिरहेको छ ।
त्यस्तै, राप्ती राजमार्गअन्तर्गत सल्यानको दार्मा गाउँपालिका– ५ जलेखर्क बजारनजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए । उनका अनुसार सडकछेउको भागबाट पहिरो गएकाले राजमार्ग सञ्चालन गर्न कठिनाइ भएको छ । अहिले दुईतिर गरेर दुई दर्जनभन्दा बढी गाडी रोकिएका छन् भने सडक सञ्चालन गर्न डोजरको प्रयोग गरिएको छ ।
यसैगरी दाङ–सुर्खेत राजमार्गअन्तर्गतकै कालीमाटी गाउँपालिका– ३ अस्रेनीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।