पहिरोले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध

आइतबार, २३ असार, २०८१
डिजिटल संस्करण

अविरल वर्षासँगै आएको पहिरोका कारण बागलुङ खण्डमा पर्ने दुई मुख्य सडक नै अवरोध भएका छन् । राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरोध भएका हुन् । कालीगण्डकी करिडोर बागलुङखण्डअन्तर्गत विभिन्न ठाउँमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । 

करिडोरको बागलुङ नगरपालिका– १० भकुण्डे दब्ल्याङको पहिरोमा सडक बगाएको छ भने जैमिनी नगरपालिका– १ को जैमिनीघाटनजिकै पनि सडक अवरोध भएको छ । 

त्यसैगरी जैमिनी नगरपालिका– ८ मा रहेको रादीखोला र वडा नम्बर ५ मा पर्ने विनामारेमा पनि माथिबाट पहिरो आएर सडक अवरुद्ध भएको डिएसपी यादवले जानकारी दिए । 

पहिरोकै कारण मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको गलकोट नगरपालिका– ११ रिघामा सडक अवरुद्ध भएको छ । बानपा– १० दब्ल्याङमा गएको पहिरोका कारण मालढुंगा–बलेवा–कुश्मिसेरा–बरेङ सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । 

शनिबार नै बागलुङ नगरपालिका– १३ पैयुँपाटा घडेरीमा गएको पहिरोले भैरवस्थान मन्दिर जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण बागलुङका अधिकांश ग्रामीण सडकहरू पनि अवरुद्ध भएका छन् । 

जैमिनी नगरपालिकाको केन्द्रबाट वडा तहमा जाने अधिकांश सडकहरू अवरुद्ध छन् भने बागलुङको काठेखोला गाउँपालिकाको लेखानी जाने सडक र गलकोटदेखि ताराखोला जाने सडक अवरुद्ध भएको छ ।  
 

सुझावित समाचार