प्लास्टिकजन्य फोहोरमैला उद्यम व्यवस्थापनका लागि एक करोड २० लाखको अनुदान घोषणा

बिहिबार, २० असार, २०८१
डिजिटल संस्करण

युरोपियन युनियन (इयू)काे सहयाेगमा क्रिएसन नेपालले  प्लास्टिकजन्य फोहोरमैला उद्यम व्यवस्थापनका लागि एक करोड २० लाख रुपैयाँबराबरको अनुदान रकम दिने भएको छ।

क्रिएसन नेपालद्वारा सञ्चालित ग्रिनसिफ्ट परियोजनाअन्तर्गत तीन प्रदेशमा प्लास्टिकजन्य फोहोरमैला उद्यम सञ्चालन गरिरहेका ६ निजी संस्थालाई उक्त रकम प्रदान गरिने परियोजनाका प्रमुख युनिस घिमिरेले जानकारी दिए। 

बागमती प्रदेशबाट तीन, मधेश प्रदेशबाट दुई र लुम्बिनी प्रदेशबाट एक गरी जम्मा ६ निजी संस्थालाई मूल्याकंनका आधारमा उक्त अनुदान प्रदान गरिने उनले बताए। छनाेट भएका प्रत्येक उद्यमलाई २० लाखका दरले अनुदान रकम प्रदान गरिनेछ।

प्लास्टिकजन्य फोहोरमैला संकलन तथा व्यवस्थापन क्षेत्रमा काम गरिरहेका संस्थाहरूलाई सशक्त बनाउने उद्देश्यले अनुदान प्रदान गर्न लागिएको बताइएको छ। प्राप्त अनुदान रकमबाट संस्थाले आफ्नो क्षमता अभिवृद्धिसँगै भौतिक पूर्वाधार तथा मिसिनरी उपकरणहरू खरिद गर्न सक्नेछन्।

क्रिएसन नेपालका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले यस अनुदानले प्लास्टिकजन्य फोहोरमैलाका क्षेत्रमा काम गर्ने निजी उद्यमीहरूलाई संस्थागत र प्राविधिक क्षमता अभिवृद्धि गर्न ठूलो सहयोग हुने विश्वास व्यक्त गरे। स्टार्टअपको लागि सम्भवतः निजी स्तरमा पहिलोपटक यति धेरै राशिको अनुदान रकम प्रदान गर्न लागिएको उनले बताए।

क्रिएसन नेपालले ग्रिनसिफ्ट परियोजना चारवर्षे समायावधिका लागि तीन प्रदेशका नौ स्थानीय तहमा विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ।

सुझावित समाचार