टिकेटिङ पोर्टल इ–सेभेन स्टार डटकम सञ्चालनमा

मंगलबार, १८ असार, २०८१
डिजिटल संस्करण

सेभेन स्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्सले अत्याधुनिक अनलाइन ट्राभल एजेन्सी इ–सेभेन स्टार डटकम सञ्चालनमा ल्याएको छ ।  कम्पनीले आफ्नो सेवाको एक दशक मनाउँदै ट्राभल एन्ड टुर्स क्षेत्रको अनुभवलाई प्रयोग गरी हवाई टिकेटिङ सेवाका लागि डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याएको हो । 

विश्व डिटिटलाइजेसनतर्फ अगाडि बढिरहँदा अबको भविष्य र व्यावसायिकतासमेत यसैसँग जोडिने देखिएकाले अनलाइन ट्राभल एजेन्सी सञ्चालनमा ल्याएको कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बाँस्तोलाले बताए । डिजिटल टिकेटिङ प्लेटफर्म सञ्चालनमा आएसँगै विश्व बजारमा आफ्नो उपस्थिति रहेको र ग्राहकलाई २४सै घण्टा सेवा प्रदान गर्न सक्षम रहेको बाँस्तोलाको भनाइ छ । 

यस प्लेटफर्ममार्फत ग्राहकले विश्वभरका वायुसेवाका टिकट जुनसुकै समयमा घरैमा बसेर आफैँले काट्न सक्नेछन् भने आवश्यक परेको खण्डमा २४सै घण्टा ग्राहक सेवामा पहुँच राख्न सक्ने बताइएको छ । कम्पनीका अनुसार अनलाइनमा खरिद गरिएको टिकेटको भुक्तानी नेपाली वा विदेशी बैंकका भिसा, मास्टरकार्ड तथा अन्य कार्ड, विभिन्न बैंकिङ वालेट, खल्तीजस्ता डिजिटल वालेट तथा कनेक्ट आइपिएसलगायतका भुक्तानी सेवाप्रदायकबाट सोझै गर्न सकिनेछ । 

साना ट्राभल एजेन्सीले जिडिएस सिस्टम चलाउन सिक्नै नपर्ने, सोही मूल्यमा सीधै कम्पनीको वेबसाइटबाट टिकट काटेर ग्राहकलाई बेच्न सकिने अवस्था आएको बाँस्तोलाले बताए । 

सुझावित समाचार