वाटर एड नेपालले जापानी सहयोग नियोग जाइकासँगको सहायतामा विद्यालयमा सरसफाइसम्बन्धी आनीबानी तथा स्वास्थ्य सेवा सुविधा परियोजना सम्पन्न गरेको छ । सिराहाको कल्याणपुर, कर्जान्हा र मिर्चैया नगरपालिकाका १४ विद्यालय र १५ स्वास्थ्य सेवा केन्द्रमा यो परियोजना कार्यान्वयन गरेको हो । जाइकाले यो परियोजनामा १० लाख अमेरिकी डलर रुपैयाँ सहायता दिएको छ ।
यो परियोजनाले हालसम्म देशभर तीन हजार चार सय ३३ विद्यार्थी र स्वास्थ्य सेवा केन्द्रका ८१ जना कर्मचारी लाभान्वित भएको उल्लेख छ । सन् २०२१ को सेप्टेम्बरमा सुरु भएको यो तीन वर्षीय परियोजना गत जुनमा सम्पन्न भएको हो । नगरपालिका, विद्यालय र स्वास्थ्य सेवा केन्द्रहरूको संयोजकत्वमा बागमती वेलफेयर सोसाइटी नेपालको साझेदारीमा यो परियोजना सम्पन्न भएको हो । खानेपानी र सरसफाइ यो परियोजनाका मुख्य उद्देश्य थिए ।
परियोजनाका अनुसार नेपालमा कुल जनसंख्याको आधाभन्दा बढी संख्या साबुनपानीबाट हातधुने सुविधामा पहुँच राख्छन् । १९ प्रतिशत सरकारी विद्यालयमा महिला र पुरुषलाई अलग्गै चर्पीको सुविधा छैन, जसकारण २२ प्रतिशत महिलाले महिनावारी भएको समयमा विद्यालय जान नपाएको उल्लेख छ । ४६ प्रतिशत स्वास्थ्य सेवा केन्द्रमा आधारभूत सरसफाइ सामग्री अभाव रहेको परियोजनाले जानकारी दिएको छ । जाइका र वाटरएडले यो परियोजना विद्यालय र स्वास्थ्य सेवा केन्द्रमा सरसफाइ पूर्वाधार सुनिश्चित गर्न ल्याएका हुन् ।