जर्मनीविरुद्ध खेल्न स्पेन तयार

मंगलबार, १८ असार, २०८१
डिजिटल संस्करण

पूर्वविजेताहरू जर्मनी र स्पेनबीच शुक्रबार हुने प्रतिस्पर्धालाई युरो २०२४ को फाइनल रूपमै हेरिएको छ 

युरोपियन फुटबल च्याम्पियनसिप (युरो २०२४)को कम्तीमा एउटा क्वार्टरफाइनल रोमाञ्चकताले भरिनेछ । पूर्वविजेताहरू जर्मनी र स्पेनले क्वार्टरफाइनल भेट पक्का गरेका छन् । स्पेनले आइतबार राति जर्जियामाथि ४–१ को सानदार जित निकाली जर्मनीविरुद्धको अन्तिम आठको समीकरण तयार गरेको हो । फुटबल इतिहासमै पहिलोपटक युरो प्रतियोगिताको क्वार्टरफाइनल खेलेको जर्जियाले अनुभवी स्पेनको आक्रमणको सामना गर्न सकेन । 

यद्यपि, खेलको १८औँ मिनेटमा आत्मघाती गोलबाट जर्जियाले दुईपटकको विजेता स्पेनमाथि १–० को अग्रता लिएको थियो । काकाबाडजको क्रसमा रोबिन ली नोमान्डले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरे । त्यस समयमा जर्जियाले अर्को अप्रत्याशित नतिजा निकाल्ने सम्भावना बढेको थियो । तर, स्पेनका खेलाडी संगठित रूपमा खेल्दा जर्जियाको केही लागेन । खेलको ३९औँ मिनेटमा रुड्रीले स्पेनलाई १–१ को बराबरीमा फर्काए । त्यसलगत्तै स्पेन खेलमा हाबी भयो । खेलको ८३औँ मिनेटमा स्पेनका लागि डानी ओल्मोले गोल गर्दा जर्जिया ४–१ ले पराजित भयो । 

जर्जियाले समूह चरणमा सन् २०१६ को विजेता पोर्चुगलमाथि २–० को सनसनी नतिजा निकाली अन्तिम १६ को स्थान पक्का गरेको थियो । जर्जियाले आफ्नो पहिलो सहभागितामै युरो सानदार बनायो । स्पेनबाट फराकिलोअन्तरले पराजित भए पनि जर्जियाका खेलाडीले इतिहास बनाएका छन् । मैदानबाट बाहिरिँदा जर्जियाका खेलाडी खुसी नै देखिन्थे । 

अर्कोतिर प्रतियोगिताकै दाबेदार जर्मनी तथा स्पेनबीचको शुक्रबार हुने क्वार्टरफाइनल खेल सबैलाई प्रतीक्षारत हुनेछ । जर्जियाविरुद्ध बराबरी खेल फर्काएका रोड्री जर्मनीसँग खेल्न आतुर भएको जनाएका छन् । ‘अहिले हामीले एउटा बाटो समातेका छौँ, जर्मनीको घरेलु मैदानमा अर्को एउटा स्मरणीय जितको प्रतीक्षा गरेका छौँ,’ उनले भने, ‘स्टुगार्ट रंगशालामा हामीलाई केही डर छैन ।’

स्पेनको तुलनामा जर्मनी बढी दबाबमा भएको उनको भनाइ छ । घरेलु मैदान र समर्थकबीच राम्रो नतिजा निकाल्न गाह्रो हुने उनले विश्लेषण गरे । ‘मलाई यति विश्वास छ, जर्मन खेलाडी धेरै आत्तिएका मात्र छैनन्, उनीहरू दबावमा छन्, अहिले युरोमा हामीले जुन किसिमको खेल खेलिरहेका छौँ, त्यसको अगाडि जर्मनी फिक्का हुनेछ,’ रोड्रीले भने, ‘योपटक सबै प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै तेस्रोपटक उपाधि जित्ने लक्ष्य स्पेनको हो ।’

डिफेन्समा आत्मविश्वासी स्पेन
समूह चरणमा स्पेनको डिफेन्स यति बलियो रह्यो । विपक्षी खेलाडीले स्पेनको गोल पोस्टमा गोल नै गर्न सकेनन् । नकआउट चरणमा स्पेनले एक गोल खायो । त्यो पनि आत्मघाती थियो । यसको अर्थ स्पेनको डिफेन्स लाइनअप सर्वाधिक बलियो छ । रक्षापंक्ति बलियो हुँदा स्पेनका फिनिसिङ र मिडफिल्डका खेलाडी ढुक्कका साथ विपक्षी पोस्टमा अगाडि बढ्ने गरेका छन् । 

तर, अब क्वार्टरफाइनलमा स्पेनको प्रतिद्वन्द्वी जर्मनी हो । विश्वकप तथा युरो फुटबल प्रतियोगितामा जर्मनीको नकआउट प्रवेशसँगै थप सशक्त प्रदर्शन हुने गर्छ । फेरि योपटक घरेलु मैदानमै प्रतियोगिता भइरहेको छ । सन् २०१४ को विश्वकपपछि जर्मनीले अन्तर्राष्ट्रियस्तरमा ठूलो उपाधि उचालेको छैन । १० वर्षको उपाधि खडेरी जर्मनी भूमिमै तोड्ने जर्मन खेलाडीहरूले लिएका छन् । गत वर्ष कतारमा भएको विश्वकप र अहिलेको युरोको रणनीति फरक छ । अहिले जर्मन खेलाडीका डिफेन्सदेखि फिनिसिङसम्म राम्रा छन् । गोल व्यहोरे पनि जर्मनी गोल फर्काउन क्षमता राख्छ । स्पेनका प्रशिक्षक लुइस डेले विपक्षीको स्तर अनुसरण रणनीति तयार हुने बताए । ‘हामीलाई थाहा छ, अब सहज प्रतिद्वन्द्वी छैन, यो एक किसिमले फाइनलजस्तै हुनेछ,’ उनले भने, ‘हामीले फुटबल इतिहासमा फेरि एकपटक कडा प्रतिद्वन्द्वी पाएका छौँ ।’

आत्मघाती गोलमा फ्रान्स क्वार्टरफाइनलमा
पूर्वविजेता फ्रान्स युरो २०२४ प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । प्रतियोगिताअन्तर्गत सोमबार भएको प्रिक्वार्टरफाइनल खेलमा फ्रान्सले बेल्जियमलाई १–० ले हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो । फ्रान्सको जितमा आत्मघाती गोल नै निर्णायक बनेको थियो । फ्रान्सका रान्डाल कोलोले प्रहार गरेको बल भेर्टोघेनबाट डिफ्लेक्ट हुँदै गोलका रूपमा परिणत भएको थियो । खेलको ८६औँ मिनेटसम्म फ्रान्स र बेल्जियमले गोलरहित बराबरी खेलेका थिए । अतिरिक्त समयतर्फ धकेलिएको प्रिक्वार्टरफाइनल खेलमा बेल्जियमका भर्टोघेनले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्स १–० ले विजयी भएको हो । फ्रान्सले अब क्वार्टरफाइनलमा पोर्चुगल वा स्लोभेनियाबीचको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

सुझावित समाचार