जिल्ला अदालत सर्लाहीले तपस्वी भनिने रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोग मुद्दामा १० वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई कैद सजायसँगै पीडितलाई पाँच लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । बम्जन गत वर्ष २६ पुसदेखि नै पुर्पक्षका लागि जिल्ला कारागार महोत्तरीमा छन् ।
अदालतले १० असारमा बम्जनलाई दोषी ठहर गरेको थियो । सोमबार कैद सजाय निर्धारण भएको अदालतका स्रेस्तेदार सदन अधिकारीले बताए । आफू १४ वर्षकी छँदा बम्जनले यौन शोषण (यौन दुरुपयोग) गरेको भन्दै रौतहटकी एक पीडितले २३ माघ ०७६ मा दर्ता गराएको जाहेरीका आधारमा मुद्दा अगाडि बढेको थियो । सर्लाहीको लालबन्दी नगरपालिका–१२ पत्थरकोटस्थित आश्रममा आनी बसेको समयमा बम्जनले यौनशोषण गरेको बालिकाले दिएको बयानमा उल्लेख छ ।
बम्जन बाराको निजगढ नगरपालिका– १२ का बासिन्दा हुन् । २३ माघ ०७६ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी दर्ता भएको थियो । मुद्दा दर्तापछि अदालतले बम्जनविरुद्ध २१ असार ०७७ मा पक्राउ पुर्जी जारी गरेको थियो । उनी गत वर्ष २४ पुसमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– ६ स्थित निवासबाट पक्राउ परेका थिए ।
‘लिटिल बुद्ध’को उपनामसमेत पाएका बम्जनमाथि आश्रममा बस्ने अन्य अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको उजुरी पनि छ । पीडित पाँच परिवारले उनीविरुद्ध उजुरी दिएका छन् । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा विभिन्न प्रहरी कार्यालयले बम्जनविरुद्ध उजुरी दर्ता गरेका छन् ।