सबै पालिकामा स्केटिङ मैदान आवश्यक छ : मन्त्री जोशी

शनिबार, १५ असार, २०८१
डिजिटल संस्करण

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ७५३ वटै पालिकामा स्केटिङ तथा स्केट बोर्डिङ मैदान बनाउनुपर्ने बताएका छन्।

सातौँ स्केटिङ तथा स्केट बोर्डिङ च्याम्पियनसिप २०८१ मा शनिबार  बोल्दै उनले त्यसका लागि आफ्नो मन्त्रालयले समेत स्थानीय सरकारसँग समन्वय गर्ने बताए।

‘यो साहसिक खेल हो, यसको विकासका लागि सरकारले सक्ने सहयोग गर्न जरुरी छ,’ मन्त्री जोशीले भने। नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषद्को संयुक्त आयोजनामा काठमाडौंको टोखामा च्याम्पियनसिप आयोजना भइरहेको छ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, गायक प्रकाश सपूत, नेपाल ओलम्पिक कमिटीका महासचिव मिलेन्द्रराज श्रेष्ठलगायतले खेलाडीहरूलाई स्केटबोर्ड हस्तान्तरण गरेका थिए।

त्यस क्रममा टोखा नगरपालिकाका प्रमुख अधिकारीले आफ्नो पालिकाका कुनै पनि खेलाडीले आर्थिक अभावका कारण खेल खेल्नबाट वञ्चित हुनु नपर्ने विश्वास दिलाए।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एक सय ८० जुनियर तथा सिनियर पुरुष र ७० जना जुनियर तथा सिनियर महिला खेलाडी सहभागी रहेका छन्। उनीहरूलाई खुला सिनियर पुरुष, खुला जुनियर पुरुष, खुल्ला महिला सिनियर र खुला जुनियर महिला स्केटिङ च्याम्पियनसिप गरेर चारवटा विधामा खेलाइएको नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए।

सुझावित समाचार