युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र फिफा कन्सल्ट्यान्ट माझहर अहमदबीच भेटवार्ता भएको छ।
बिहीबार भएको भेटमा अहमदले फिफाको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत युनेस्कोसँगको सहकार्यमा सयभन्दा बढी देशमा फिफा फुटबल फर स्कुल कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएका थिए।
नेपालमा पनि ग्रासरुटबाट फुटबल विकासको उद्देश्यसहित फिफा फुटबल फर स्कुल कार्यक्रम सञ्चालन गर्ने विषयमा सकारात्मक छलफल भएको बताइएको छ। कार्यक्रमका लागि फिफाले प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्नेछ भने ३२ हजार थान बल उपलब्ध गराउनेछ।
यो कार्यक्रम नेपालमा आगामी अक्टोबर र नोभेम्बरमा सुरुवात गर्ने एन्फाको योजना छ। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले पनि पुनर्जागरण फुटबल कार्यक्रमहरूलाई जोड दिने योजना बनाएको हुँदा फिफाको यो कार्यक्रमले सहयोग गर्ने मन्त्री श्रेष्ठले बताए।
भेटमा मन्त्रालयका महाशाखा प्रमुख रुद्रप्रसाद अधिकारी र एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको उपस्थिति रहेको थियो। चार दिनदेखि नेपालमा रहेका अहमदले भेटघाटसँगै एन्फाको पछिल्लो गतिविधि नियालिरहेका छन्।