बागमती प्रदेश सभामा आज विभागीय मन्त्रीहरूले जवाफ दिने

बिहिबार, १४ असार, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि आज पनि बागमती प्रदेश सभा बैठक बस्दै छ । बिहान ११:३० बजे बस्ने बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ । आजको बैठकमा बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

विभागीय मन्त्रीको जवाफपछि बजेटको संशोधन प्रस्तावमाथि छलफलसहित निर्णयार्थ प्रस्तुत हुने प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। सचिव खड्काले प्रदेश सभा सचिवालयमा बजेटमाथि नाैवटा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिए । सांसदहरूले बजेटको १९ वटा बुँदामा संशोधन दर्ता गरेको सचिवालयले जनाएको छ। 

प्रदेश सरकारले असार १ गते बसेको प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षमा लागि ६४ अर्ब ५४ करोड चार लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि चालू आर्थिक वर्षको तुलनामा बजेट वृद्धि गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा एक अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको हो । 

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगततर्फ ३६  अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

सुझावित समाचार