बजेटमा सत्तापक्षकै सांसदको असन्तुष्टि : कांग्रेस सांसदले बजेट फिर्ता गर्न मन्त्रीको खाता मागे

बिहिबार, १३ असार, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सभा बैठकमा पेस गरेको बजेटमाथिको छलफलमा भाग लिँदै सांसदहरूले बुधबार पनि चर्को आलोचना गरेका छन् । बुधबारको बैठकमा बोल्ने सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदले बजेटको वेला देखिने सत्तापक्षको बलमिच्याइँ र प्रतिपक्षको असन्तुष्टिले प्रदेश सरकारलाई नै बदनाम गरेको भन्दै सच्चिन आग्रह गरेका छन् ।

बागमती प्रदेशका सांसद एवं सत्तासाझेदार दल एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले बजेट विनियोजन गर्दा सधैँ सबै दलहरूमा किन असन्तुष्टि हुन्छ भन्दै प्रश्न गरे । उनले सत्तापक्षले पेलेर जान खोज्ने र प्रतिपक्षले अड्को मात्रै थाप्ने कारण यस्तो भएको हो कि ? भन्दै कारण पहिल्याउन र समाधान खोज्न आग्रह गरे । 

बजेट निर्माणका वेला मन्त्री र कर्मचारीको चाहनालाई सुधार गर्नुपर्ने बताउँदै मन्त्री र कर्मचारीको चाहनाले बजेटमा बिचौलिया प्रवृत्ति हावी हुँदै गएको नेता खनालको दाबी थियो। बैठकमा बोल्दै बागमती प्रदेश सभाका सांसद डा. दिनेशचन्द्र देवकोटाले संघीयता कार्यान्वयनमा चुनौती रहेको बताए । उनले प्रदेश सरकारको गतिविधि र क्रियाकलापले संघीयतामाथि चुनौती थपिदिएको आरोप लगाए ।

यस्तै, उनले संसद्को भूमिकामाथि सरकारले सीमा निर्धारण गरेर हस्तक्षेप गर्न खोजेको टिप्पणी पनि गरे। एकैदिन सात–सातवटा मन्त्रालय र थप निकायहरूको बजेटहरूमाथिको छलफल सक्ने प्रवृत्ति गलत भएको बताए । उनले दलका नेताहरू मिलेर बजेट आ–आफ्नो क्षेत्रमा पारेको आरोप पनि लगाए ।

सत्तारूढ दल माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष एवं प्रदेश सांसद सरल सहयात्री पौडेलले मौका पर्दा आफ्नो मात्रै दुनो सोझ्याउने नेतृत्वले देश बदल्न नसक्ने दाबी गरे । बजेटमाथि नेतृत्वमा रहेकाहरूले हालिमुहाली गर्ने गरेको उल्लेख गर्दै उनले नेतृत्वले युग बदल्ने, कर्तव्य पालन गर्ने वा परिस्थितिको सामना गरेर अघि बढ्न खाेज्नुपर्ने बताए । 

उनले प्रदेश सरकारले ल्याएको बजेटमा विगतकै निरन्तरताको झल्को आएको टिप्पणी गरे । उनले  मन्त्रालयहरूको पुनर्संरचना गर्नुपर्ने मागसमेत गरे । महत्त्वाकांक्षी नीति तथा कार्यक्रममा ल्याउने सरकारले कनिका छरेजस्तो बजेट बाँड्नु नहुने बताए ।

कांग्रेस सांसदले बजेट फिर्ता गर्न मन्त्रीको खाता नम्बर मागे
बुधबारको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसदले बजेटबराबरको रकम फिर्ता गर्न मन्त्रीहरूको बैंक खाता नम्बर मागेर विरोध जनाएका छन् । बजेटमा आफ्नो जिल्ला र निर्वाचन क्षेत्रका योजना नसमेटिएको भन्दै कांग्रेस सांसद प्रभात तामाङले सोबापतको रकम फिर्ता गर्न मन्त्रीहरूको खाता नम्बर मागेका थिए ।

उनले आफ्नो जिल्लामा विनियोजित बजेटबराबरको रकम फिर्ता गर्न जिल्लावासीहरू सक्षम रहेको दाबी गरे । उनले खेलकुद मन्त्रालयबाट रसुवाका लागि छुट्टयाइएको पाँच लाख बजेट फिर्ता गर्न रसुवाका जनताले सात रुपैयाँ फिर्ता गरे पुग्ने बताए । यस्तै, उद्योग मन्त्रालयले रसुवामा १५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै उनले रसुवाका जनताले २१ रुपैयाँका दरले फिर्ता गरे पुग्ने बताए ।

सांसद तामाङले प्रदेश सरकारको बजेट वितरणमा भौगोलिक सन्तुलन कायम गर्न नसकेको दाबी गर्दै आफ्नै प्रदेशका नागरिकहरूलाई पराइको व्यवहार गरेको आरोप लगाए ।

यस्तै, कांग्रेस सांसद उर्मिला नेपालले स्थानीय तह र वडाहरूले ल्याएको बजेटजस्तो भन्दै प्रदेश सरकारले ल्याएको बजेटको आलोचना गरिन् । उनले मन्त्री र शक्तिशाली नेताहरूले बजेट आफ्नो क्षेत्रमा मात्रै पारेको दाबी गर्दै टुक्रे बजेट भने आफूहरूको क्षेत्रमा पारेको आरोप लगाइन् ।

यस्तै, प्रतिपक्ष दल नेमकिपाका बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले जिल्ला र सांसद हेरेर बजेट विनियोजन गर्ने मन्त्रीहरूलाई जिल्ला समन्वय समितिको प्रमुख बनाइदिन आग्रह गरे । सरकारमा बस्नेहरूले कहिल्यै पनि प्रदेशको आवश्यकतालाई पहिचान गर्न नसकेको बताउँदै उनले समय छँदै सच्चिन चेतावनी पनि दिए ।

बुधबार बसेको प्रदेश सभाको दुईवटा बैठकमा बजेटमाथिको छलफलमा सत्तापक्षका ११ र प्रतिपक्षका २८ जना सांसदले धारणा राखेका थिए । 
 

See More On

सुझावित समाचार