विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले समान प्रकृतिका कामको जिम्मा कुनै एउटा मात्र निकायलाई दिने पनि बताएका छन् । बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) सँगको भेटवार्तामा उनले यस्तो बताएका हुन् । साथै, प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा रहेको बताउँदै उनले दुई ठाउँबाट हुँदै आएका समानप्रकृतिका कामको जिम्मा कुनै एउटै मात्र निकायलाई दिने पनि बताए ।
अध्यक्ष धितालले निजी क्षेत्रसँग रहेको धेरै मानव पुँजी आयोगले पनि प्रयोग गर्ने सोच बनाएको बताए । प्रसारणलाइनमा खुला पहुँचको विषयमा एक महिनाभित्र सार्वजनिक सुनुवाइ गर्ने बताउँदै अध्यक्ष धितालले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए)मा रहेका समस्या समाधानका लागि स्ट्यान्डर्ड मापदण्ड नाएर सरकार र निजी क्षेत्र दुवैलाई बाध्यकारी बनाइने पनि बताए । कार्यक्रममा इप्पान अध्यक्ष गणेश कार्कीले आयोगले बनाउने पाँचवर्षे कार्य योजनामा निजी क्षेत्रका केही सवाल सम्बोधन गरिदिन आग्रह गरेका थिए ।
‘जलविद्युत् आयोजना पूर्ण क्षमतामा चल्ने वर्षाको समयमा विद्युत् प्राधिकरणले विद्युत् खरिद नगर्दा विद्युत् आयोजनाको वित्तीय अवस्था कमजोर भएको छ,’ उनले भने, ‘सर्वसाधारण सेयरधनीमा भने जलविद्युत् कम्पनीले लाभांश दिन सक्दैनन् भन्ने गलत सन्देश गएको छ ।
टेक अर पे मा गरिएको पिपिएको प्रावधान बीचैमा परिवर्तन गरेर वर्षाको बिजुली नकिनेका कारण चालू जलविद्युत् कम्पनीको वित्तीय अवस्था बिग्रेको हो । यसमा आयोगले उत्पादित सबै बिजुलीको मूल्य पाउने व्यवस्थाका लागि सहजीकरण गरिदिनुपर्छ ।’