एकीकृत समाजवादीमा नेतृत्व सर्वसम्मत छान्न सघन छलफल

बिहिबार, १३ असार, २०८१
डिजिटल संस्करण

महाधिवेशनको मिति नजिकिँदै जाँदा एकीकृत समाजवादीमा भावी नेतृत्वको रस्साकस्सी तीव्र बनेको छ । अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत रूपमा नेतृत्व छनोट हुनुपर्ने पक्षमा छन् । नेपालले बुधबार दिनभर सहमति कायम गर्न नेताहरूसँग छलफल गरेका छन् ।

‘सबैलाई सहमतिमा ल्याएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । म सहमतिकै पक्षमा छु,’ नेपालले भने । उनले समय बाँकी भएकाले सहमति जुट्ने विश्वास लिएका छन् । सहमतिमै नेतृत्वमा दोहोरिने नेपालको चाहना छ । प्रतिस्पर्धाको अवस्थाका लागि पनि नेपाल तयार रहेको उनीपक्षीय नेताहरू बताउँछन् । कार्यकर्ताले पनि संक्रमणकालीन अवस्थामा नेतृत्व सहमतिमै चयन गर्नुपर्ने भन्दै दबाब बढाएका छन् । कम्तीमा मुख्य पदमा सहमति गरेर जानुपर्ने कार्यकर्ताको माग छ । तर, नेताहरूका अनुसार सहमतिभन्दा प्रतिस्पर्धाको सम्भावना बलियो बन्दै गएको छ ।

सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पनि अध्यक्षका दाबेदार छन् । बुधबार खनाल र भुसालबीच छलफल भएको थियो । छलफलमा दुवै नेताले वैचारिक राजनीतिक कार्यदिशामा समाजवादी कार्यक्रमलाई अगाडि बढाउने सम्बन्धमा एकताबद्ध भएर जाने सहमति गरेका छन् । नेतृत्व निर्माण गर्ने सम्बन्धमा पनि समझदारीपूर्वक अगाडि बढ्ने सहमति भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए । अन्य विषयमा थप छलफल गरी निर्णय गरिने समझदारी बनेको उनले बताए ।

‘वैचारिक राजनीतिक कार्यदिशामा समाजवादी कार्यक्रमलाई अगाडि बढाउने सम्बन्धमा एकताबद्ध भएर जाने सहमति भएको र नेतृत्व निर्माण गर्ने सन्दर्भमा पनि समझदारीपूर्वक अगाडि बढ्ने समझदारी बनेको छ । अन्य विषयमा आगामी दिनमा छलफल गरेर निर्णय गरिने समझदारी भएको छ,’ भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सुझावित समाचार