एकीकृत समाजवादीमा पुस्तान्तरणको बहस कसरी चल्यो ?
एउटा व्यक्तिबाट अर्को व्यक्तिमा अध्यक्ष पद सार्नु पुस्तान्तरण होइन । केन्द्रीय कमिटीमा नयाँ पुस्ताको हस्तक्षेप कुन रुपमा देखिन्छ ? आज जुन हिसाबले नेपाली समाजले नयाँ अनुहारबाट नेतृत्व खोजिरहेको देखिन्छ, त्यसलाई एकीकृत समाजवादीले कुन हिसाबले ग्रहण गर्छ त्यो महत्वपूर्ण हो ।
नेपाली समाज एकातिर, एकीकृत समाजवादी अर्कातिर हुनै सक्दैन । आज कसैलाई गालीगलोज गरेर, बुढाखाडाबाट चल्दैन भनेर केही मानिस राजनीतिमा आएका छन् । हामी नेतृत्वका कमजोरीलाई उजागर गर्दै यो नेता अब्बल छ भन्न खोजिरहेका छैनौँ । तर, नेपाली समाजले जे माग गरिरहेको छ, कमिटीमा नयाँ पुस्ताको हस्तक्षेपको जेजस्तो आशा गरेको छ, त्यो देखिनेगरी पार्टीले महाधिवेशनबाट निर्णय गर्छ ।
शीर्ष नेताहरूको व्यवस्थापनको विकल्प के हुन सक्छ ?
देङले माओबारे टिप्पणी गर्दै एक सन्दर्भमा भनेका छन्– हामी माओबारे त्यो गर्दैनौँ, जुन ख्रुस्चेभले स्टालिनका सम्बन्धमा गरे । अघिल्ला नेताका कमजोरीबारे धेरै चर्चा गरेर सिंगो कम्युनिष्ट आन्दोलनविरुद्ध विषवमन गर्ने प्रवृत्तिसँग हामी चनाखो हुनुपर्छ । हामी यतिखेर ‘पाकाको सम्मान, युवालाई प्रोत्साहन’ भन्ने नारामा अघि बढ्नुपर्ने वेला छ । अहिले केही मानिस जबर्जस्ती महाधिवेशनलाई सहमति र एकतातर्फ जान नदिन फलानोको विकल्प छैन भन्दै अन्य नेताको तेजोबध गर्ने, गालीगलोज गर्ने बाटामा लागेका छन् । त्यस्तो चरित्रसँग हामी होसियार हुनुपर्छ । नीतिमा एकरूपता ल्याउने नेताहरूले नेतृत्वमा पनि एकरूपता ल्याउन विकल्पको खोजी पक्कै गर्नुहुनेछ ।
नेतृत्वको आलोचना गर्दा नेता–कार्यकर्तालाई किनारा लगाइन्छ भनिन्छ नि ?
आलोचनात्मक चेतलाई जसले मार्न खोज्छ, त्यो कम्युनिष्ट होइन । आलोचना सुन्न या पचाउन नसक्ने तथा आलोचनात्मक चेतनालाई प्रवर्धन नगर्ने व्यक्ति कम्युनिष्ट नेता हुनै सक्दैन । आलोचनालाई गालीको अर्थमा बुझ्नु र आलोचकलाई शत्रुको हिसाबले व्यवहार गर्नु फासीवादी चरित्र हो । हाम्रो पार्टी फासिवादविरुद्ध छ ।